back to top
९ साउन २०८१, बुधबार
IPL 2024
IPL 2024
९ साउन २०८१, बुधबार
IPL 2024
spot_img

गुरुपूर्णिमाका अवसरमा गुरुकुलको उद्घाटन

Workplace

रामेछाप ।
शारदा संस्कृत मा.वि.रामेछापले गुरुपूर्णिमाका अवसरमा गुरुकुल उद्घाटन कार्यक्रमको आयोजना गर्‍यो। गुरुकुलको शुभारम्भ समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीशिवप्रसाद घिमिरेेले गर्नु भयो भने प्रमुख अतिथिका रूपमा समुपस्थित रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेज्यूले गुरुकुलको समुद्घान गर्नु भयो ।

Workplace

सभामा विद्यालयका पूर्वविद्यार्थी तथा नेपाल संस्कृत विश्वविद्यालय , वाल्मीकि विद्यापीठका उपप्राध्यापक उमेशप्रसाद घिमिरे ´कमल` , नेपाल महर्षि वैदिक फाउण्डेसन फर वैदिक कल्चरका गुरुकुल निरीक्षक श्रीविष्णुप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रीप्रसाद नयाँघरे, रामेछापका स्थापित पत्रकार नवराज पथिक, रामेछाप नगर वडा नं-८का वडाध्यक्ष सन्तोष तामाङ, महिला वडासदस्य मिनू घिमिरे , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षलगायत विद्यालयका प्राचार्य , शिक्षक-शिक्षिका, अभिभावक, छात्रछात्राहरूको विशेष उपस्थिति तथा सहभागिता रहेको थियो।

विद्यालयका छात्रहरूबाट स्वस्तिवाचन , गीत-भजन गायन, नृत्यप्रदर्शनपूर्वक विशेष गुरुपूजनसमेत गरिएको उक्त कार्यक्रम विद्यालयकी शिक्षिका पारू कडरियाले सञ्चालन गर्नु भएको थियो । विद्यालयका तर्फबाट शिक्षक रिजालले स्वागत मन्तव्य र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले गुरुकुल शुभारम्भका उद्देश्य र भावी योजनाका बारेमा प्रकाश पार्दै स्वागत अभिवादन गर्नु भएको थियो। शुभकामना मन्व्यका क्रममा वडाध्यक्ष सन्तोष तामाङले रामेछाप जिल्लाकै एकमात्र संस्कृत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्नु पर्ने विचार राख्दै विद्यालयमा गुरुकुल सञ्चालन हुनु गौरवको विषय भएकाले गुरुकुलको सञ्चालनका लागि आफूले निरन्तर पहल र जुनसुकै सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व-अध्यक्ष बद्री नयाँघरेले मन्तव्यका क्रममा विद्यालय हिजो र आजको अवस्थाको चर्चा गर्दै भोलिको भविष्य समुज्ज्वल रहने विश्वास प्रकट गर्दै संस्कृत विद्यालयमा आवासीयरूपमा सञ्चालन हुन लागेको गुरुकुलको सम्बर्धन तथा प्रवर्धनमा सबै क्षेत्र र तप्काका महानुभावले कुनै कञ्जुस्याइँ नगरी सहयोग गर्नु पर्ने र विद्यालयको अभ्युन्नतिका लागि आफू सर्वदैव समर्पित रहने सङ्कल्प गर्नुभयो ।

विद्यालय व्यवस्थापनसमितिका पूर्वअध्यक्षसमेत रहनु भएका नगरप्रमुख लवश्री न्यौपानेज्यूले आफूले अध्ययन प्रारम्भ गरेको विद्यालयमा संस्कार र संस्कृतिको रक्षार्थ सञ्चालन गर्न लागिएको गुरुकुलक‍ो सुसञ्चालन तथा व्यवस्थापनका लागि नगरका तर्फबाट यथासम्भव सबै प्रकारको सहयोग गर्ने र आफू व्यक्तिगतरूपमा पनि अहोरात्र खटिरहने प्रतिबद्धता प्रकट गर्नु भयो । गुरुपूर्णिमा तथा व्यासजयन्तीक‍ो पौराणिक तथा शास्त्रीय सन्दर्भको समेत विवेचन गर्नुभएका न्यौपानेले विद्यालयमा गुरुपूर्णिमाका अवसरमा गुरुकुल शुभारम्भ हुनुले वास्तविकरूपमा गुरुपूजन भएको छ। जिल्लाकै गौरवका रूपमा रहेको संस्कृत विद्यालयमा स्थापित तथा सञ्चालित गुरुकुलको निरन्तरताका लागि जिल्लाका सबै संस्कृतिप्रेमी महानुभावलाई गुरुकुलरूपी गुरुपूजनयज्ञमा समाहित हुन आग्रह गर्नु भएको थियो।

विशेष अतिथि गुरुकुल-निरीक्षक विष्णुप्रसाद पौडेलज्यूले शुभकामना मन्तव्यका क्रममा गुरुकुलीय शिक्षापद्धति तथा संस्कृत शिक्षालाई बेवास्ता गरिएका कारण हाम्रो देश नेपाल अधोगतितर्फ धकेलिदै गएको वास्तविकताप्रति चिन्ता प्रकट गर्दै सनातन धर्मसंस्कृतिको जगेर्ना गर्न अब सबै एकजुट भएर प्राचीन परमणपरागत गुरुकुल गाउँगाउँमा स्थापना र सञ्चालन गर्ने कार्यमा अघि बढ्नु पर्ने बेला आएको बताउनु भयो । पूर्वजले दिएको ज्ञानपरम्परालाई जीवित राख्दै आफ्नो कुलपरम्परा तथा जन्मदेखि मृत्युपर्यन्तका विविध संस्कारहरू विधिपूर्वक सम्पन्न गर्नका लागि यस्ता संस्कृत माविले आचारनिष्ठ विद्वान पंडितहरू उत्पादन गर्नै पर्ने बताउँदै त्यसका लागि आवासीय गुरुकुल सञ्चालन गर्नुको विकल्प नरहेको बताउनु भयो। पौडेलले सरकारको सहयोग बिना नै नेपालमा साधुमहात्माहरूले भिक्षा सङ्कलन गरेर उत्कृष्ट गुरुकुलहरू सञ्चालन गरिरहेका छन् ती गुरुजन र गुरुकुलहरूको अध्ययन , अवलोकन र अनुसरण गरेर शास्त्रीय गुरुकुल चलाउनु पर्छ र गुरुपूर्णिमाका अवसरमा गुरुकुल शुभारम्भ गर्ने शारदा मावि परिवारलाई धन्यवाद तथा बधाई दिनु भयो र गुरुकुलको सञ्चालनका लागि महर्षि वैदिक फाउण्डेसनका तर्फबाट प्राज्ञिक परामर्शसहित नियमसङ्गत आर्थिक सहयोग गर्न आफू पहिलेदेखि न‌ै आतुर तथा सकारात्मक रहेको धारणा राख्नु भयो ।

उत्प्रेरकवक्ताका रूपमा समुपस्थित शारदा संस्कृत माविका पूर्वछात्र तथा नेसंविका उपप्राध्यापक उमेशप्रसाद घिमिरेले पौरस्त्य धर्मदर्शन, संस्कार संस्कृति तथा संस्कृतभाषा र गुरुकुलपद्धतिका सम्बन्धमा गहन विचार राख्दै सहभागी विद्यार्थी , शिक्षक तथा अभिभावकलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो । विशेषगरी सर्वत्र भ्रष्टाचारव्याप्त , पारस्परिक वैमनस्ययुक्त, आतङ्कित, अनुशासनरहित नेपाली समाजको सुव्यवस्थाका लागि गुरुकुलीय शिक्षाक‍ो अपरिहार्यता तथा संस्कृतविद्याको आवश्यकता रहेको घिमिरेले बताउनु भयो ।वस्तुत: नेपाल भनेको ज्ञानभूमि, तपोभूमि, साधनाभूमि हो । हाम्रा पूर्वजले खानु र पिउनुलाई कहिल्यै जीवन मानेनन् । गुरुकुलीय परम्परामा रहेर नित्यनिरन्तर अनुसन्धान, चिन्तन, श्रवण, मना र निधिध्यासन गरी जीवनको सार्थकताका लागि हाम्रा पूर्वज ऋषिमहर्षिले जीवन यापन गरे र विश्वब्रह्माण्डको अधिष्ठान/आधार तत्त्वका रूपमा आफूलाई स्थापित गरे । गुरुकुल नै हाम्रो शिक्षापद्धतिको मूल हो । भगवान राम , श्रीकृष्णले समेत गुरुकुलबाटै शिक्षा आर्जन गरेका हुन् । भगवान राम वशिष्ठको गुरुकुलमा पढेका हुन् भने भगवान् श्रीकृष्णले सान्दीपनिक‍ गुरुकुलमा अध्ययन गरेका हुन् । हाम्रै भूमिले तथा गुरुकुल परम्पराले ऋषिमहर्षि तथा दार्शनिक जन्माएको हो । भगवान गौतम नेपाल(लुम्विनी)मा जन्मिए र विश्वमा शान्तिको सन्देश फिँजाए। राजर्षि जनकले शासन गरेको देश नेपाल(जनकपुर) हो , राजा नै ब्रह्मचिन्तन गर्ने ऋषि भएकाले राजर्षि भनिएको हो । मानवमष्तिष्ककै सर्वोच्च उपलव्धिका रूपमा विश्वले स्वीकार गरेको अष्टाध्यायी व्याकरणका रचयिता नेपाल(अर्घाखाँची-पणेना)कै हुन् । वेदलाई पुराणादिका माध्यमले व्याख्याविस्तार गर्ने वेदव्यास नेपाल(तनहूँ)कै सपूत हुन् । त्यसैगरी विश्वामित्र, वाल्मीकि, वशिष्ठ आदि ऋषिमहर्षिले गुरुकुलीय परम्परामा रही चेतनाको विकास गरेको साधनास्थल नेपाल नै हो । गुरुकुल परम्पराबाटै विश्वकै ज्येष्ठ र श्रेष्ठ मानिएको पौरस्त्य सभ्यतासंस्कृति र जीवनपद्धतिको विकास भएको हो । यहीँबाट सुरुवात भएको चेतनाको ज्योतिले विश्वलाई जगाएको हो । त्यसैले विश्वलाई ज्ञानप्रवाह गरि जगाउने अभिभारा हाम्रै हो । हाम्रै पूर्वजले विश्वकै जगद्गुरुको पदवी पाएका थिए । हामी पनि जगद्गुरु बन्न सक्छौँ तर हामी विस्तार खिइँदै छौँ , हाम्रो जगद्गुरुको पदवी गुम्दै गएको अवस्था छ । पाश्चात्य लर्डमेकालेले लादेको आधुनिक शिक्षाको मोहमा परेर हामीले गौरवशाली गुरुकुल परम्परालाई तिलाञ्जलि दियौँ , त्यसले गर्दा हामी भौतिकवादी बन्दैे गयौँ। वस्तुत : गुरुकुलीय संस्कृत विद्या नै हाम्रो विद्या हो , जसले आत्मज्ञान गराउँन सक्थ्यो । श्रीकृष्णले ´अध्यात्मविद्या विद्यानाम्` (गीता) भनेर सम्पूर्णविद्याहरूको राजाका रूपमा आत्मविद्यालाई स्वीकार गरेका छन् । आत्मविद्यादेखि अतिरिक्त सबै विद्या पेट पाल्नका लागि मात्र साधन हुन् । वस्तुत: खानु र लाउनुमात्र जीवन होइन , आत्मतत्त्वसाक्षात्कार नै जीवनको लक्ष्य हुनुपर्छ भन्दै गुरुकुल र अध्यात्मज्ञानको रहस्यका बारेमा घिमिरेले प्रकाश पार्नु भएको थियो । त्यसैगरी घिमिरेले आफ्नो मन्तव्यका क्रममा विद्वान् तथा विद्वत्ताको महिमा, विद्यार्थीमा रहनु पर्ने अनुशासनको गरिमा र घरगृहस्थीका लागि दानशीलता महत्ता आदिको चर्चा गर्दै ´एकले थुकी सुकी सयले थुकी नदी` भन्ने उखानलाई व्यावहारिकरूपमा उतारेर अघि बढ्न सके गुरुकुल सहजरूपमा चल्ने बताउनु भयो र सबैलाई कम्तीमा १ कप चिया (प्रतिदिन-२०रूपैयाँ) गुरुकुलका लागि छुट्याएर दान गर्न समेत आह्वान गर्नु भएको थियो । मन्तव्यका क्रममा घिमिरेले पछिल्ला समयका ठूला दार्शनिक, आधुनिक गुरुकुलका प्रवर्तक तथा सम्वर्धक, नेपालकै सर्वोत्कृष्ट गुरुकुलका रूपमा स्थापित तथा सञ्चालित महेश संस्कृत गुरुकुल, देवघाटका संस्थापक अध्यक्ष डा.स्वामी रामानन्द गिरिको संस्कृतप्रतिको प्रेम, वेद-उपनिषदादि शास्त्रको स्वाध्याय-प्रवचनप्रतिको निष्ठा र उहाँले नेपालमा गुरुकुल स्थापना र विकासमका लागि गर्नु भएको त्याग तपस्या तथा समर्पण भावको मुक्तकण्ठले प्रशंसा गर्दै त्यस पुनित कार्यबाट सबैले प्रेरणा लिएर अघि बढ्नु पर्ने विचार राख्नु भएको थियो । अन्तमा दूरदृष्टियुक्त पूर्वजले आफ्नो जग्गाजमिन दानपूर्वक पाठशाला हुँदै संस्कृत विद्यालयको स्थापनाका लागि गरेको सङ्घर्षलाई उच्चसम्मान गर्दै वर्तमानमा हामी सबैले धर्मसंस्कृतिको जगेर्नाका लागि योग्य गुरु र अनुकुल वातावरणसहितको व्यवस्थित गुरुकुल सञ्चालन गर्ने अभिभारा बहन गर्नु पर्ने विचार राख्नुभयो।

गुरुकुल उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद घिमिरेले गुरुकुलको निरन्तरताका लागि आफू जुनसुकै त्याग र समर्पण गर्ने प्रतिबद्धतासहित समुपस्थित अतिथिगणलगायत सहयोगी सबैप्रति आभार मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (60%)
  • दुःखी (20%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?