back to top
२० असोज २०८१, आइतवार
IPL 2024
IPL 2024
२० असोज २०८१, आइतवार
IPL 2024
spot_img

औपचारिकतामा सीमित सहिद दिबस

Workplace

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।

Workplace

भूपि शेरचनको प्रस्तुत कवितांशले देश र जनतामा सकारात्मक परिवर्तनका लागि सहिदको भूमिका उच्च रहेको सङ्केत गरेको छ । देश र जनताको लागि हाँसी हाँसी जीवनको आहुती दिने व्यक्तिलाई सहिद भनिन्छ अर्थात् निरङ्कुशता र एकतन्त्रीय शासनविरुद्ध लडेका तथा क्रूर शासकहरूका सामु आत्मसमर्पण नगरी जानाजान मृत्युवरण गर्ने नै सहिद हुन् । तर पछिल्लो समयमा जथाभावी रुपमा सहिद घोषणा गर्दै सम्मान दिने गलत प्रवृत्तिले वास्तविक सहिदको योगदान ओझेलमा पार्न खोजिएकोजस्तो देखिन्छ ।

देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवावमा सहिद धोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने ब्यक्ति सहिद हुन् वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । त्यतिमात्र होइन कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान ठहर्छ । बिसं १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल सहिद हुन् । त्यस पछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्दत पुर्‍याउनेहरु सहिद हुन् । देश र जनताको लागि ज्यानको आहुती दिने व्यक्तिहरु नै वास्तविक सहिद हुन् तर त्यसपछि सरकारको नेतृत्व गर्ने दलहरुले सहिद घोषणालाई मनोमानी बनाएको देखिन्छ । सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरियो भनेमात्र वास्तविक सहिदलाई सम्मान पुग्दछ ।२०६२/६३ सालको जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै ब्यक्तिलाई सहिद बनाउन थालिएपछि सहिद परिवारका १२ जना सदस्यले सहिदको अपमान गरेको भन्दै सरकार समक्ष सामूहिक आत्मदाहको चेतावनी समेत दिएका थिए । दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन राज्य र बिद्रोही माओवादी पक्षबाट मारिएका सबैलाई सहिद बनाउने घोषणा पछि यस्तो सहिद परिवारले यस्तो आक्रोस पोखेका थिए । त्यसपश्चात् यस बिषयलाई सम्बोधन गर्न भन्दै साहित्यकार मोदनाथ पश्रितको संयोजकत्त्वमा एक उच्चस्तरीय समिति पनि बनाईएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा झण्डै आठ हजार पाँच सय जनालाई सहिद घोषणा गरी एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको थियो । त्यसमा अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिव दुई हजारको त नाम थर समेत खुल्न सकेको थिएन । त्यसबेला उक्त कार्यको बिशेषगरी नेपाली कांग्रेसले चर्को बिरोध गरेको थियो । तर उसको बिरोध पनि धैरै समयसम्म टिक्न सकेन । कांग्रेसले पनि आफू सत्तामा भएकाबेला निश्चित मापदण्डबिना सहिद घोषणा गर्ने कार्यलाई साथ दिन पछि परेन । कांग्रेस समेतको समर्थनमा बनेको माधवकुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्ध र अन्यबेला मारिएका सुरक्षाकर्मी, राजनैतिक कार्यकर्ता र अन्यगरी झण्डै चार हजार ब्यक्तिलाई सहिद घोषणा गरेको थियो ।

मापदण्डका आधारमा सहिदको घोषणा गर्ने भन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता एवं समर्थक मारिएको अवस्थामा सहिद घोषणा गर्ने परिपाटी बसाएका छन् । पहिलो संविधान सभाको निर्वाचन अघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने भने  तिमध्ये केहीलाई सरकारले मधेसी सहिदको घोषणा गरिसकेको छ । कार्य क्षेत्रमा खटिएर मारिएका निजामति कर्मचारीलाई निजामति सहिद मानियो भने सेना र प्रहरीको कार्यक्षेत्रमा मृत्यु हुनेलाई पनि सहिद मानेको देखियो । फरक बिचार राखेर आन्दोलनमा उत्रेका ब्यक्तिलाई आन्दोलन दवाउने नाममा सत्तापक्षले हत्या गरेको अवस्थामा त्यस्ता ब्यक्तिलाई सहिदको घोषणा गरिनुलाई अन्यथा भन्न सकिदैन तर नेपालमा निश्चित मापदण्ड नबनाई जथाभावी सहिद घोषणा गर्नु पक्कै पनि वास्तविक सहिदप्रतिको अन्याय नै हो । कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य हो । हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतीले सहिदको परिभाषा सस्तो बनेको भान हुन थालेको छ । सहिद भन्नासाथ शिर निहुरिने, हृदयदेखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक सहिदको योगदानलाई समेत फिका बनाउनमा मद्दत पुर्‍याएको छ । राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना सहिद घोषणा गरेपछि सर्वसाधारणले त्यसको सिको गरी दवावमा सहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागि सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्नेमा त्यस्तो देखिदैन ।

सरकारले पनि औपचारिकताका लागि मात्र तामझामका साथमा सहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको बाटोमा हिँड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै सहिद प्रतिको सच्चा सम्मान हुनेछ । जुन उद्देश्य र लक्ष्यका साथ सहिदहरुले मृत्युवरण गरेका थिए त्यहि उद्देश्य र लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएमा मात्रै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ । देशमा देखिएको बर्तमान संकटपुर्ण घडीलाई सहिदहरुले देखाएको मार्गको माध्यमबाट निकास पहिल्याई शान्ति कायम गर्ने मार्गमा लाग्न अब ढिला गरिनु हुदैन । सरकार र आन्दोलनरत दलहरूले आ-आफ्ना हठ र दलीय स्वार्थभन्दा माथी उठेर सहिदले देखाएको बाटो पहिल्याउँदै देश र जनताको हितमा काम गर्न सकेको खण्डमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?