बुटवल । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामासँगै नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले जनाएको छ ।
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीको संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गर्ने भएका छन् । महराका लागि एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन भएको छ । नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने सम्भावना भए पनि आन्तरिक विवादका कारण उनीहरूले हस्ताक्षर गरेका छैनन् । प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया अघि बढेको बताए । मुख्यमन्त्रीको राजीनामा र नयाँ मुख्यमन्त्रीका लागि दाबी आइसकेको उनले बताए ।
प्रदेशसभामा सहभागी ८ दल र एक स्वतन्त्र सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरी २०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा गठबन्धन फेरिएपछि माओवादीले सरकारबाट फागुन २३ मा समर्थन फिर्ता र अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने गरी बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वानका लागि सिफारिस गरेका थिए । साना दललाई मिलाएर विश्वासको मत लिने प्रयास सफल नभएपछि उनले राजीनामा दिएका हुन् ।
महरालाई समर्थन गर्ने विषयमा माओवादीका स्वयं महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ५ बुँदे सहमति पनि गरेका छन् । सहमतिपत्रमा प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरूको नेतृत्व पंक्तिमध्येबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।
मुख्यमन्त्री चौधरीले भने सरकार बनेकै दिनबाट दिनगन्ती सुरु हुनु संघीयता कार्यान्वयनका लागि चिन्ताको विषय भएको बताए । उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘प्रदेशमा हामी आफैंले कुनै पनि स्रोतको पहिचान र विकास गर्न सकेका छैनौं, मात्र मन्त्री र मुख्यमन्त्री बन्ने होडमा रमाइरहेका छौं,’ उनले भने, ‘मुख्यमन्त्रीको फोटो झुन्ड्याएर हामी रमाए पनि जनतामा चरम निराशा बढेको छ । त्यसको सम्बोधन हामीले गर्न सकेका छैनौं ।’ उनले प्रदेश सरकारको स्थायित्व जरुरी रहेको बताए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक सांसद निलम्बनमा परेपछि अहिले ८६ सदस्य कायम छन् । सरकार गठन गर्न कम्तीमा ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद छन् । माओवादी नेता महराको पक्षमा एमाले २९, माओवादी १०, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र १ गरी ४४ जनाको समर्थन जुटेको छ । त्यसमा साना दलबाट संख्या थपिँदै जाने माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।
माओवादीका स्थायी समिति सदस्यसमेत रहेका महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका थिए । उनले एमालेका कमल बुढाथोकीलाई १४ हजार २० मतान्तरले पराजित गरेका थिए । महराले १९ हजार ४ सय २५ मत ल्याएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा रोल्पाको सुनीलस्मृति गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी २०७९ माघमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा झन्डै ३ महिना अर्थमन्त्री बनेका थिए । -कान्तिपुर