अर्घाखाँची । अर्थतन्त्रको प्रमुख स्रोतको रूपमा चिनिने कृषि क्षेत्रको विकासमा पछिल्लो समय कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा कृषि उत्पादन पनि वृद्धि हुँदै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनको सहयोगले प्रविधिमैत्री संरचना निर्माणमा सहयोग गर्दा उत्पादनमा दोब्बर बृद्धिभई एक सिजनमा मात्र सात लाख सम्मको काँक्रो र टमाटर उत्पादन गर्न सफल भएको कृषि तथा पशुपन्छी फर्मका संचालनक सुशील आचार्यले बताउनुभयो ।
प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गरि आपूर्ति गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सेमी हाइटेक प्रविधि र वर्षादको समयमा बेमौसमी तरकारी उत्पादन गरि मनग्य आम्दानी गर्न सफल भएको कृषक अगुवा तथा प्राविधिक प्रदीप आचार्यले बताउनुभयो ।
दूध, अण्डा र मासुमा अर्घाखाँची जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । लोकल कुखुरा,खसी बोका तथा कुखुरामा अर्घाखाँची बिगत पाँच बर्ष देखिनै आत्मनिर्भर बन्दै आएको छ ।
बाख्रा पालनको हब मानिने शितगंगा नगरपालिका बाट काठमाडौँ ,बुटवल पोखरा लगायतका सहरमा खसिबोका निर्यात भइरहेको शितगंगा नगरपालिका पशु शाखा प्रमुख गणेश थापाले जानकारी गराउनुभयो । सो क्षेत्र बाट वार्षिक ५०० भन्दा बढी खसिबोका निर्यात हुनेगरेका छन् ।
जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग, नमुना बाख्रा स्रोत केन्द्र निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् ।