back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

वाल्मीकि विद्यापीठमा भानुजयन्ती

spot_img

डा. उमेशप्रसाद घिमिरे
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठको वेदान्त विभागद्वारा भानुजयन्तीका अवसरमा यही मिति २०८१ असार २७ गते भानुभक्तीय रचना वाचन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। वेदान्त विभागका विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौण्डिन्न्यायनको सभाध्यक्षतामा आयोजित उक्त समारोहमा प्रमुख अतिथिका रूपमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल र विशिष्टातिथिका रूपमा समसामयिक नेपाली साहित्यका अग्रगण्य छन्दकवि, विशिष्टसमालोचक, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वप्राज्ञ प्रा. डा. देवी नेपालको सहभागिता रहेको थियो।
त्यसैगरी समारोहमा ने. सं. वि. केन्द्रीय प्राध्यापक संघका महासचिव डा. नारायण बराल, पूर्वसभापति प्राध्यापक शम्भुराज गौतम, वाल्मीकि विद्यापीठ प्राध्यापक संघ एकाइका सभापति प्राध्यापक घनश्याम भण्डारी, वाल्मीकि विद्यापीठ वेदविभागका अध्यक्ष प्रा.डा. आनन्दप्रसाद घिमिरे, मीमांसाविभागका अध्यक्ष प्रा.डा. प्रमोदवर्धन कौण्डिन्न्यायन, विश्वविद्यालय सभाका पूर्वसभासद तथा विशिष्टकवि प्रा.डा. जीवन अधिकारी, ने.सं.वि.का पूर्वपरीक्षानियन्त्रक प्रा.डा. धनेश्वर नेपाल, अनुसन्धान केन्द्रका पूर्व कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद दाहाल, वाल्मीकि विद्यापीठका सहायक प्राचार्यद्वय प्राध्यापक अच्युतप्रसाद लामिछाने र डा. रमा भट्टराई, व्याकरण विषय समितिका अध्यक्ष प्रा.डा. भीमप्रसाद कण्डेल, नेपाली विषय समितिका अध्यक्ष प्रा.डा. ध्रुवप्रसाद भट्टराई, साहित्यविभागका अध्यक्ष प्रा.डा. नुरापति पोखरेल, प्रा.डा. जयन्त आचार्य, सहप्रा. हीरानन्द तिमल्सिना, सहप्रा.डा. जनार्दन उपाध्याय, सहप्रा. पराशर आचार्य, सहप्रा. गोविन्द पौडेल, सहप्रा.डा. प्रेमराज नेउपाने, सहप्रा.डा. माधव लामिछाने, सहप्रा.डा. प्रकाश तिवारी, सहप्रा. सुरेशराज पौडेल, डा.शेखर दाहाल, उपप्रा. कवि दुर्गाप्रसाद पौडेल, प्राध्यापक कवि नवराज घिमिरे, कवि ज्ञानु विद्रोही, उपप्रा. कवि नवराज लामिछाने लगायत विद्यापीठका प्राध्यापक गुरुजनको विशेष आतिथ्य रहेको थियो।
२११ औँ भानुजयन्तीका अवसरमा आयोजित भानुभक्तीय रचना वाचन प्रतियोगितामा १७ जना प्रतियोगी विद्यार्थीहरूले भाग लिएका थिए भने २० जना प्राध्यापक गुरु र विद्यार्थीबाट अप्रतियोगी रूपमा समेत भानुभक्तीय रचना तथा भानुभक्तसम्बद्ध स्वकीय कविता वाचन गरिएको थियो। उक्त प्रतियोगितामा छात्र टीका अधिकारी सर्वप्रथम हुन सफल भएका थिए भने सविना कोइराला द्वितीय , विप्लव अधिकारी तृतीय र याज्ञवल्क्य न्यौपाने प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका थिए। विजयी र सहभागी सबैलाई सभाका प्रमुखअतिथि प्राचार्य प्रा.डा. भागवत ढकालको हातबाट प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो।

समारोहको प्रारम्भमा वेदान्तविभागकी छात्रा जुनु मल्लिकले स्वागत अभिनन्दन गरेकी थिइन् भने अतिथि, प्रतियोगी, सहभागी र सहयोगी सबैलाई आयोजकका तर्फबाट वेदान्त विभागका सदस्य डा.चेतमणि न्यौपानेले आभारसहित धन्यवाद ज्ञापन गरेका थिए। उक्त समारोहको सहजीकरण एवं उद्घोषण वेदान्त विभागकै सदस्य डा.उमेशप्रसाद घिमिरेले गरेका थिए।
समारोहका विशिष्टातिथि प्राज्ञ प्रा.डा. देवी नेपालले आफ्नो मन्तव्यका क्रममा “वंशो द्विविधः – जन्मना, विद्यया च” अनुसार वंश जन्मगत र ज्ञानगत गरी २ प्रकारका हुन्छन्, त्यसैले आफू जन्मगत रूपमा भानुभक्तको सन्तति नभएपनि ज्ञानगत रूपमा भानुभक्तकै सन्तति हुँ भन्दै भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गरेका थिए। भानुभक्तीय रचना वाचन गर्दै एवम् उद्धरण प्रस्तुत गर्दै पानीको सलल बहावजस्तै भानुका काव्य सहजढङ्गले बगेका छन्, गति, यति मिलाएर छन्दको पूर्ण अनुशासन पालना गर्दै लेखिएका उनका काव्य नेपाली कविहरूका लागि आदर्श पाठ हुन्, भानुभक्तीय रचनाले वेदान्तदर्शनको जटिलतालाई समेत सरल ढङ्ग‌ले प्रस्तुत गर्दै जनजनको मनमनमा घुसाउन र फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। त्यसैले वाल्मीकि विद्यापीठको वेदान्त विभागले भानुभक्तीच रचना वाचन कार्यक्रम आयोजना गर्नु अत्यन्त उपयुक्त, सान्दर्भिक र प्रयोजनपूर्ण छ भन्दै आयोजक वेदान्त विभागप्रति हार्दिक धन्यवाद दिएका थिए। आगामी दिनमा वेदान्त विभाग र नेपाली विभागको आपसी समन्वयमा यस किसिमका कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दै कवि नेपालले आदिकवि भानुभक्त सम्बद्ध पञ्चचामर छन्दोबद्ध “म भानुभक्त-सन्तति” शीर्षक कलापूर्ण र भावगभीर सुन्दर कविता सुमधुर स्वरमा वाचन गरेका थिए।
त्यसैगरी प्रमुखातिथि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले आफ्नो मन्तव्यका क्रममा भाषिक, सांस्कृतिक, सामाजिक, साहित्यिक, दार्शनिक, राष्ट्रिय चेतना आदिका दृष्टिले भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान उल्लेख गर्दै भानुभक्त अनुवादक नभई मौलिक स्रष्टा हुन् भन्ने पुष्टि गरेका थिए। रामायणको महाआख्यानलाई उपजीव्य बनाई नेपाली समाजको मौलिकता उपस्थापन गर्दै लोखिएको मौलिक ग्रन्थका रूपमा रामायण रहेको छ, भानुभक्तले संस्कृतको रामायण र वेदान्त दर्शनलाई सहज भाषामा लेखेर नेपालीकरण गरेका छन् र आज वाल्मीकि विद्यापीठ अन्तर्गतको वेदान्तविभागले यस किसिमको भानुभक्तीय कार्यक्रम सञ्चालन गरेर उनीप्रति न्याय र श्रद्धा गर्न सफल भएको छ भन्दै यस किसिमका बौद्धिक कार्यक्रमहरूको निरन्तरताका लागि शुभकामनासहित आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्ध‌तासमेत व्यक्त गरेका थिए।
वाल्मीकि विद्यापीठका प्राध्यापक डा. प्रमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) ले पारिवारिक सदस्यका तर्फबाट भानुभक्तप्रति श्रद्धाभाव प्रकट गर्दै भानुभक्तको आधिकारिक परिचयमाथि प्रकाश पारेका थिए। आचार्य वंशमा वि.सं. १८७१ असार २९ गते कृष्ण पक्षका अष्टमीका दिन रविवारमा धर्मावतीदेवीका गर्भबाट खर्दार धनञ्जय आचार्यका छोराका रूपमा नेपाली भाषाका मर्मज्ञ प्रयोक्ता र नेपाली साहित्यका अद्वितीय स्रष्टा भानुभक्त आचार्यको जन्म भएको थियो, कविता सिर्जनाका माध्यमले नेपाली भाषाको उन्नयन र प्रवर्धन गर्न सफल, धार्मिक, आध्यात्मिक एवं नैतिक चेतनाका परिपोषक आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा वेदान्त‌विभागले भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना गरी भानुविषयक चर्चापरिचर्चा सुरुवात गरेकोमा वेदान्तविभागलाई कौण्डिन्न्यायनले हार्दिक धन्यवाद व्यक्त गरेका थिए।
त्यसैगरी निर्णायकको भूमिका समेत निर्वाह गर्नु भएका वाल्मीकि विद्यापीठ, साहित्य विभागका विभागाध्यक्ष प्रा.डा. नुरापति पोखरेलले नेपाली भाषाका एकीकरणकर्ता आदिकवि भानुभक्त आचार्य छन्दकविता तथा आध्यात्मिक कविताको मूल मियो हुन् भन्दै भानुभक्तप्रति श्रद्धाभाव व्यक्त गरेका थिए। र वेदान्तदर्शनलाई नेपाली कविता सिर्जनाका माध्यमले प्रचारप्रसार गर्ने भानुभक्तलाई सम्झिएर “भानुजयन्ती समारोह” आयोजना गरी वेदान्तविभागले भानुभक्त‌प्रति सच्चा कृतज्ञता प्रकट गर्न सफल भएको छ भन्दै भानुभक्तीय रचना श्रवण र मूल्याङ्कन गर्ने अवसर प्रदान गरेकामा हार्दिक धन्यवाद प्रकट गरेका थिए।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत नेपाली विषय समितिका अध्यक्ष तथा प्राध्यापक डा. ध्रुवप्रसाद भट्टराईले नेपाल राष्ट्र निर्माणमा योगदान दिने पृथ्वीनारायण शाह र भानुभक्त आचार्य राष्ट्रिय विभूति हुन् भन्दै १२० भन्दा बढी जातजाति नेपालीहरूको माध्यम भाषा नेपालीलाई सबै जातजातिको साझा भाषा बनाउने श्रेय भानुभक्तलाई जान्छ भन्दै भानुभक्त‌को योगदान‌को चर्चा गरेका थिए। उनले निर्णायकका तर्फबाट समारोहमा वाचन गरिएका कविताहरुको संक्षिप्त मूल्याङ्कनसहित पुरस्कार प्राप्त गर्न सफल (प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन) कविहरुलाई उत्तरोत्तर उन्नयनको शुभकामनासहित हार्दिक बधाइ ज्ञापन गरेका थिए।
समारोहका अन्तमा सभाध्यक्ष तथा वेदान्तविभागका अध्यक्ष प्रा.डा. सुमोदवर्धन कैण्डिन्न्यायनले आदिकवि भानुभक्त आचार्यले वेदान्तदर्शनलाई नेपाली समाजमा फिँजाउन र बुझाउनका लागि गरेको योगदानको चर्चा गर्दै रामायण-उत्तरकाण्डअन्तर्गतको रामगीताको भावानु‌वाद तथा शङ्कराचार्यको वेदान्तपरक ‘प्रश्नोत्तरी (मणिरत्नमाला)’ ग्रन्थको भावानुवादका रूपमा ‘प्रश्नोत्तरमाला’ एवं ‘भक्तमाला’ जस्तो ज्ञानवैराग्यपरक मौलिक कृति र अध्यात्म रामायणलाई नेपाली समाज र संस्कृतिको रङ्गरोगनले लिपेर भाषारामायण महाकाव्य सिर्जना गरी आध्यात्मिक लेखनपरम्पराको बलियो जग खडा गरिदिएकाले वाल्मिकी-विद्यापीठ, वेदान्तविभागले भानुको योगदानको चर्चा परिचर्चा गर्दै सम्मान प्रकट गर्नका लागि भानुजयन्तीका अवसरमा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना गरेको बताएका थिए। उनले कार्यक्रम भव्य, सभ्य र रमणीय बनाउन सहभागी भएका अतिथिगण, वाचनमा सहभागी प्राध्यापकगण, प्रतियोगी छात्रगण र सहयोगी सबैलाई वेदान्त विभागका तर्फबाट आभार समर्पणपूर्वक सभाको समापन गरेका थिए।
राष्ट्र भनेको भूगोलमात्र नभई त्यो भूगोलवासी जनता, उनीहरूले बोल्ने भाषा, उनीहरुले अपनाए‌को जीवनपद्धति, संस्कृति, उनीहरुको विचार, दर्शन तथा दृष्टिकोण आदि पनि हो। वस्तुतः भाषा-संस्कृति-विचार विनाको राष्ट्र मुर्दादेश हुने भएकाले भौगोलिक एकीकरणमार्फत राष्ट्र निर्माण गर्न बडामहाराज पृथ्वीनारायण शाह‌को जति योगदान छ त्यति नै भाषा-संस्कृतिलाई साहित्यका माध्यमले जोडेर सबै जातजातिका नेपाली जनतामा राष्ट्रियताको भाव जगाई राष्ट्रलाई जीवन्त बनाउन आदिकवि भानुभक्त आचार्यको त्यति नै योगदान रहेको छ। आदिकवि भानुभक्तले तत्कालीन कवि- साहित्यकारहरुले भन्दा कलात्मक-गुणात्मक र परिमाणात्मक सबै दृष्टिले उत्कृष्ट काव्य सिर्जना गरेकाले भानुभक्त नै केन्द्रीय कवि हुन् र मोतीराम भट्टले भाषाका आदिकवि भन्ने जुन उपाधि दिए त्यो उपाधिलाई भानुभक्तले सम्यक् दङ्गले थेग्न सकेका पनि छन्, त्यसलाई नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि” भन्दै श्रद्धासहित अनुमोदन समेत गरेका छन्। त्यसैले समयका दृष्टिले प्रथम नभएपनि साहित्यिक अवदानका दृष्टिले नेपाली साहित्यका आदिकवि बन्न सफल र नेपाली काव्यसंसारमा अध्यात्मचिन्तन तथा वेदान्त दर्शनलाई कुशलतया अवतरण गराउन सफल भानुभक्त आचार्यप्रति वाल्मीकि विद्यापीठ, वेदान्त विभाग तथा वैयक्तिक/लेखकीय श्रद्धासुमन समर्पणसहित साहित्यिक कार्यक्रमको विराम भएको थियो।
अभिवादन! जय भानु! जयतु वेदान्तदर्शनम्!
(लेखक घिमिरे वाल्मीकि विद्यापीठ, वेदान्त विभागका उपप्राध्यापक हुन्।)

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?