अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट वर्षेनि झन्डै ४ सय बढिले स्थायी बसोबास छाडेर अन्यत्र बसाइँसराइ गर्ने गरेका छन्।
गाउँपालिकाको तथ्याङ्कअनुसार २०८० सालको बैशाखदेखि चैत मसान्तसम्म १३१ परिवारका ४४२ जना गाउँ छाडेका छन् भने सोही अवधिमा बसाइँसराइ गरेर आएका परिवारको सङ्ख्या मात्र ३३ र व्यक्तिहरूको सङ्ख्या ८४ छ । २०८१ सालको बैशाखदेखि फागुन मसान्तसम्म पनि यही प्रवृत्ति दोहोरिएको देखिन्छ । यस अवधिमा १२० परिवारका ४२७ जना गाउँ छाडेका छन् भने बाहिरबाट आएका भने १५ परिवारका मात्र ३७ जना रहेका छन् ।
गाउँपालिकाले प्रत्येक वर्ष सयौं नागरिकलाई बसाइँसराइका लागि सिफारिस दिने गरेको छ । तर, पालिकाले बसाइँसराइ रोक्न प्रभावकारी योजना ल्याउन सकेको छैन । अधिकांश युवा विदेशतिर आकर्षित हुने गरेका छन् भने केही स्थानीयहरु सहरी क्षेत्रमा राम्रो अवसर खोज्दै जाने गरेका छन् ।
स्थानीय विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा र विशेष गरी रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य अवसरको खोजीमा बसाइँसराइ दर बढ्दै गएको स्थानीयबासीको भनाइ छ। आधारभूत पूर्वाधार, स्वास्थ्य सेवा, र रोजगारीका अवसरहरू अभाव हुँदा पाणिनी गाउँपालिका जनसंख्या घट्दै जाने जोखिममा रहेको छ।
पालिकाका अनुसार गाउँमै रोजगारी सिर्जना गर्न कृषिमा आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र लघु उद्योग विकासका कार्यक्रम अघि बढाइएकाे छ। तर, हालसम्म त्यस्ता योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्।
स्थानीय निकायहरूले यस विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । पाणिनी गाउँपालिकाले रोजगारीका अवसर सिर्जना गर्न, पूर्वाधार विकासमा जोड दिन र स्थानीयस्तरमै सेवा-सुविधा विस्तार गर्न सकेमा बसाइँसराइलाई न्यूनीकरण गर्न सकिने सरोकारवालाहरू बताउँछन् ।