चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन ।
सि पि सिको अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् ।
बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको विषय उल्लेख गरे । उनले माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिष्ट पार्टी भएको समेत बताए । उनले चिनियाँ र नेपालबीच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन बलियो हुँदै गएको उल्लेख गरे ।
समाजवादको बाटो नेपालले अङ्गिकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन आवश्यक रहेको उनले बताए ।
नेपालमा अहिले बहुदलीय व्यवस्था भएपनि लक्ष्य समाजवाद भएको बताउँदै उनले यो तत्कालको लागि मात्र भएको जानकारी दिए । माओवादी केन्द्र समाजवादी बिचारबाट बिचलित नभएकोले चीनको साथ आवश्यक भएको धारणा राखे ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारहरूलाइ कारबाहीको दायरामा ल्याँउदा आफ्नो सरकार हट्नु परेको उनको भनाइ थियो । चीनको विकासले नेपाललाई उत्साहित गरेकाले चिनियाँ विकास मोडल नेपालले अवलम्बन गर्नुपर्ने उनको भनाई थियो ।
छोङ्छिङ कृषि विज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एम ओ यु गरिसकेको उल्लेख गर्दै यस्तो विषयले नेपाल चीन बिचको सम्बन्धलाई थप गहिरो बनाउदै लाने पनि शर्माले बताए ।
तेस्तै कार्यक्रममा चिनियाँ नेता लुइ झिआउले छोङ्छिङ र नेपालबीच एउटा छुट्टै सम्बन्ध बन्नेमा विश्वास रहेको उल्लेख गरे ।
त्यस्तै अर्को एउटा कार्यक्रममा सीपीसी पार्टी स्कुलको पुर्ब उप प्राध्यापक लुओ जिओ मोइले चीन विकासको लागि चीन र सि चिन्फिङले अवलम्बन गरेको बाटो विषय जानकारी गराइएको थियो ।
कार्यक्रममा चीनले सदैव आफ्नो जनतालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिइएको थियो । देश र जनताको विकासको लागि कहिलेकाँही निर्मम पनि बन्नु पर्ने भन्दै आफ्नै नजिकको मान्छे भ्रष्टाचार गर्छ भने कडा कारबाही गर्न पछि हट्न नहुने आफ्नो धारणा चीनले स्पष्ट पारेको थियो ।