back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

मस्त निद्रामा सरकार : जगाउन प्रयासरत शिक्षकहरू

spot_img

नेपालको शैक्षिक इतिहासमा शिक्षकहरू सदैव राष्ट्र निर्माता, सामाजिक रूपान्तरणका संवाहक र ज्ञानका उज्यालो दीपको रूपमा रहेका हुन्छन् तर विडम्बनाको विषय यो हो कि ती शिक्षकहरू आज सडकमा छन्—न्यायको खोजीमा, आफ्नो अधिकारका लागि, अनि एउटै उद्देश्यका साथ: निदाएको सरकारलाई जगाउनु।

शिक्षकहरूका आन्दोलनहरू कुनै आकस्मिक घटना होइनन्, यो लामो समयदेखि चलिरहेको उपेक्षा, वचनविपरितको शासन र नीतिगत अन्यायको परिणाम हो। यस्ता आन्दोलनहरू केवल शिक्षकहरूको हितका लागि होइनन्, समग्र शिक्षा प्रणाली, विद्यार्थीहरूको भविष्य र राष्ट्रकै गुणस्तर सुधारका लागि हो भन्ने कुरामा अब शंका गर्नुपर्ने कुनै ठाउँ छैन।

सरकार: गम्भीरताविहीन कि रणनीतिक मौनता?

शिक्षकहरू सडकमा उत्रिएको धेरै समय भइसक्यो, तर सरकारको व्यवहार हेर्दा लाग्छ, यो समस्या केवल ‘एउटा सानो अवरोध’ हो जुन आफै सेलाउनेछ। नीति निर्माण गर्नेहरू वातानुकूलित कक्षमा बसेर शिक्षालाई सुधार गर्ने नाममा तामझामपूर्ण योजना बुनिरहेका छन्, तर शिक्षण पेसामा कार्यरत मानिसहरूको आवाज सुन्न तयार छैनन्। शिक्षकहरूलाई सेवा शर्त परिवर्तन, स्थानान्तरण प्रणाली, पदस्थापन प्रक्रिया लगायतका विषयमा गरिएको अन्यायपूर्ण र असहज नीतिहरूका विरुद्ध आन्दोलनमा उत्रन बाध्य बनाइयो। तर सरकार मौन छ, शान्त छ—वा भनौँ ‘मस्त निदाएको’ छ।

शिक्षकको काम किताब पढाउनु मात्रै होइन, समाजलाई सम्हाल्नु पनि हो। शिक्षकको चेतना भनेको समाजको मेरुदण्ड हो। जब शिक्षकहरू नै असन्तुष्ट हुन्छन्, शिक्षाको गुणस्तरमा गिरावट आउँछ र त्यसले दीर्घकालीन रूपमा देशलाई नै असर गर्छ।

शिक्षकहरूको आन्दोलन केवल नाराबाजी, जुलुस र धर्नासम्म सीमित छैन। यसमा श्रम, बौद्धिकता, र व्यापक सन्देश छ। उनीहरू विद्यार्थीलाई पढाउने सन्देशका माध्यम हुन्, र जब तिनै शिक्षकहरू आन्दोलनमा हुन्छन्, तब त्यो आन्दोलन शिक्षाको भविष्यमाथिको प्रश्न बन्छ।

शिक्षकहरूले शान्तिपूर्ण प्रदर्शन, संवादको पहल, मिडिया सम्वाद, जनचेतनामूलक गतिविधि जस्ता सभ्य तरिकाबाट आफ्नो माग प्रस्तुत गरिरहेका छन्। उनीहरूको आन्दोलनमा हिँसा छैन, ध्वंस छैन—छ त केवल समग्र शिक्षा पद्धतिलाई बदल्ने एक संयमित प्रयास।

शिक्षकहरूको आन्दोलनमा सबैभन्दा बढी असर पार्ने वर्ग भनेको विद्यार्थीहरू हुन्। कक्षाकोठा बन्द हुँदा पढाइ रोकिन्छ, अनि त्यो असर विद्यार्थीको भविष्यमा पर्दछ। तर हामीले बुझ्नुपर्छ कि शिक्षकहरूको आवाज दबाउने हो भने केवल हाल होइन, भविष्य नै संकटमा पर्छ।

यसैले, अभिभावकहरूले पनि शिक्षकमाथिको अन्यायको विरुद्धमा आवाज उठाउनु जरूरी छ। शिक्षण संस्था र सरकार बीचको यो द्वन्द्व केवल दुई पक्षबीचको हो भन्ने बुझाइ गलत हो। यो सम्पूर्ण समाजसँग सम्बन्धित विषय हो।

सरकार यदि अझै मौन बसिरहन्छ, आन्दोलनको आवाजलाई वेवास्ता गर्छ, भने त्यो दिन टाढा छैन जब शिक्षालय मात्र होइन, सम्पूर्ण सामाजिक संरचनामा असन्तोषको आगो सल्कनेछ। इतिहास साक्षी छ—शिक्षकहरू जब आन्दोलन गर्छन्, त्यो केवल जागरणको सन्देश हुन्छ।

शिक्षकहरू राज्यका संरचनागत स्तम्भ हुन्। उनीहरूको समस्यालाई गम्भीरताका साथ नलिएर राज्यले आफैंलाई कमजोर बनाइरहेको हुन्छ। सरकारलाई सम्झन जरुरी छ—”एक जना शिक्षकको आँसु भविष्यका सयौं नागरिकहरूको आशु बन्न सक्छ।”

“मस्त निदाएको सरकार अनि जगाउन प्रयासरत आन्दोलनरत शिक्षकहरू” भन्ने वाक्य केवल एउटा भावनात्मक आवरण होइन, यो सत्यता हो। हामी सबैले शिक्षकहरूको आवाज सुन्ने, उनीहरूको माग गम्भीरतापूर्वक विश्लेषण गर्ने र सहमतिको माध्यमबाट दीर्घकालीन समाधान निकाल्ने प्रयास गर्नुपर्छ।

शिक्षकको आवाज दबाउने होइन, सुन्ने समय हो। चेतनालाई दबाएर राष्ट्र निर्माण हुँदैन, बरु चेतनालाई सम्मान गरेर मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव छ।
शिक्षकको आन्दोलन शिक्षाको रक्षा र राष्ट्रको भविष्यको सुरक्षा हो—यसलाई संकट होइन, अवसर को रूपमा हेर्ने समय हो।

(लेखक: श्री कृष्ण माध्यमिक विद्यालय, पाणिनि अर्घाखाँचीका शिक्षक हुन् ।)

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?