
- संघीय सरकारले आगामी आर्थिक वर्षका लागि अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्ब १३ करोड ५६ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ।
- यो रकम वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकअन्तर्गत जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा वितरण गरिनेछ।
- प्राप्त अनुदान रकम स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार निर्माण र विभिन्न विकास योजनाहरू कार्यान्वयन गर्न उपयोग गरिनेछ।
अर्घाखाँची । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्घाखाँची जिल्लाका स्थानीय तहहरूलाई विभिन्न चार शीर्षकअन्तर्गत कुल ३ अर्ब १३ करोड ५६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा उक्त रकम हस्तान्तरण गर्न लागेको हो। प्राप्त अनुदानमध्ये चालुतर्फ २ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ र पुँजीगततर्फ २३ करोड ७८ लाख रुपैयाँ रहेको छ। जिल्लाले प्राप्त गर्ने कुल अनुदानमध्ये वित्तीय समानीकरण अनुदानतर्फ ७० करोड ५२ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ५८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ६ करोड ५३ लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ १२ करोड ९३ लाख रुपैयाँ रहेको छ।
अनुदान वितरणको विवरणअनुसार जिल्लाका तीन नगरपालिकाले कुल १ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेका छन् भने तीन गाउँपालिकाले १ अर्ब ४० करोड रुपैयाँ प्राप्त गरेका छन्।
कुन पालिकाले कति पाए अनुदान ?
शितगंगा नगरपालिकाले सबैभन्दा बढी ६५ करोड ९ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। शितगंगाले समानीकरण अनुदानतर्फ १४ करोड ५१ लाख, सशर्त अनुदानतर्फ ४६ करोड ९२ लाख, विशेष अनुदानतर्फ १ करोड ४३ लाख र समपूरक अनुदानतर्फ २ करोड २३ लाख रुपैयाँ प्राप्त गरेको हो। सन्धिखर्क नगरपालिकाले ५८ करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसमध्ये समानीकरण अनुदान १३ करोड २७ लाख, सशर्त अनुदान ४२ करोड ६९ लाख, विशेष अनुदान १ करोड र समपूरक अनुदान २ करोड ६० लाख रुपैयाँ रहेको छ।
भूमिकास्थान नगरपालिकाले ४९ करोड ९१ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। नगरपालिकाले समानीकरण अनुदान ११ करोड ३० लाख, सशर्त अनुदान ३५ करोड ६७ लाख, विशेष अनुदान १ करोड ५ लाख र समपूरक अनुदान १ करोड ८९ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।
गाउँपालिकातर्फ पाणिनी गाउँपालिकाले ५२ करोड ७८ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। पाणिनीले समानीकरण अनुदान १० करोड ७४ लाख, सशर्त अनुदान ३६ करोड ८२ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ४ करोड २२ लाख रुपैयाँ प्राप्त गरेको हो। मालारानी गाउँपालिकाले ४८ करोड १ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसमध्ये समानीकरण अनुदान १० करोड ७९ लाख, सशर्त अनुदान ३४ करोड ८८ लाख, विशेष अनुदान १ करोड ५ लाख तथा समपूरक अनुदान १ करोड २९ लाख रुपैयाँ रहेको छ।
जिल्लामा सबैभन्दा कम अनुदान छत्रदेव गाउँपालिकाले प्राप्त गरेको छ। छत्रदेवले समानीकरण अनुदान ९ करोड ९१ लाख, सशर्त अनुदान २७ करोड ६० लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ७० लाख रुपैयाँ गरी कुल ३९ करोड २१ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।
संघीय सरकारले विनियोजन गरेको यी अनुदानहरू स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक क्षेत्रका कार्यक्रम तथा समग्र स्थानीय विकासका योजनाहरू कार्यान्वयन गर्न उपयोग हुनेछ।
रकम रू. लाखमा
| शीर्षक | समानीकरण अनुदान | सशर्त अनुदान | विशेष अनुदान | समपूरक अनुदान | चालु | पुँजीगत प्रकृति | कुल जम्मा |
| अर्घाखाँची (जिल्ला जम्मा) | ७०,५२ | २,२३,५८ | ६,५३ | १२,९३ | २,८९,७८ | २३,७८ | ३,१३,५४ |
| नगरपालिका (जम्मा) | ३९,०८ | १,२४,२८ | ३,४८ | ६,७२ | १,६१,२२ | १२,३४ | १,७६,५६ |
| भूमिकास्थान नगरपालिका | ११,३० | ३५,६७ | १,०५ | १,८९ | ४६,५५ | ३,३६ | ४९,९१ |
| शितगंगा नगरपालिका | १४,५१ | ४६,९२ | १,४३ | २,२३ | ६०,३१ | ४,७८ | ६५,०९ |
| सन्धिखर्क नगरपालिका | १३,२७ | ४१,६९ | १,०० | २,६० | ५४,३६ | ४,२० | ५८,५६ |
| गाउँपालिका (जम्मा) | ३१,४४ | ९९,३० | ३,०५ | ६,२१ | १,२८.५६ | ११,४४ | १,४०,०० |
| छत्रदेव गाउँपालिका | ९,९१ | २७,६० | १,०० | ७० | ३६,९१ | २,३० | ३९,२१ |
| पाणिनी गाउँपालिका | १०,७४ | ३६,८२ | १,०० | ४,२२ | ४६,६८ | ६,१० | ५२,७८ |
| मालारानी गाउँपालिका | १०,७९ | ३४,८८ | १,०५ | १,२९ | ४४,९७ | ३,०४ | ४८,०१ |












