बर्दियामा जन्मिएकी लोक तथा दोहोरी गायिका पूर्णकला बिसि नेपाली गीत संगीतमा सदाबहार गायिका हुन् । ऊनी लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर छिन् । आजसम्म आउँदा उनको आवाजमा झन्डै पाँच हजार भन्दा धेरै गीत बजारमा आइसकेका छन् । साधारण जीवनशैली,नरम व्यबहार भएकी ऊनी कहिले विवादमा नआउने गायिका पनि हुन्।समाचार पोष्टको लागि अभिनव चौहानले लोक तथा दोहोरी गायिका पूर्णकला बिसिसँग गरेको कुराकानी।।
१. कुन गीत थियो जसले तपाईंलाई नाम र काम दुबै दियो ?
नेपाली गीत संगीतमा केही गर्नुपर्छ भनेर मैले काठमाडौंमा आएर संघर्ष गरिरहेकी थिए । जब घनश्याम तिवारीको शब्द सिर्जना, वसन्त थापाको संगीत त्यसैगरी वसन्त थापा र मेरो आवाजमा रहेको “डाँडै बिसाउनी” गीत बजारमा आयो।त्यसपछि मेरो लागि नाम र काम दुबै भयो भन्नु पर्छ । एउटा सफल गीत र मलाई पूर्णकला बिसि भनेर चिनाउने काम यहीँ हो । त्यसपछि मेला महोत्सव र स्टुडियोमा गीत गाउनको लागि धेरै काम आउन थाले ।
२. लगभग अहिले सम्म आउँदा कति गीतमा आवाज दिनु भयो ?
आजसम्म आउँदा झन्डै पाँच हजार भन्दा धेरै गीतमा आवाज भर्ने अवसर पाएकी छु । यस अर्थमा मैले आफूलाई भाग्यमानी गायिकाको रुपमा पनि लिँदै आएकी छु । यस क्षेत्रबाट मैले पैसा के कति कमाए भन्दा पनि नेपाली गीत संगीतमा कति योगदान पुराउन सके भन्ने कुराको लेखाजोखा राख्दै आएकी छु । सबैको माया पाएकी छु निरन्तर काम गर्न पाएकी छु सबैभन्दा ठुलो कुरा यहीँ नै हो।
३. लामो समयसम्म यहीँ क्षेत्रमा टिकी रहन के गर्नु पर्ने रहेछ ?
यसमा आफ्नो क्षमतासँगै सबै कुराहरू जोडिएको हुन्छ । यदि गायक गायिका हो भने आवाज राम्रो हुनुपर्छ।त्यसलाई राम्रो बनाईराख्न निरन्तर अभ्यासको आवश्यकता पर्दछ।कला गलासँगै सबैलाई मन पर्ने खालको बानी ब्यवहार पनि हुन अति जरुरी छ।त्यसैगरी आफ्नो काम प्रति सधैं जिम्मेवार हुनुपर्छ।यति गर्न सकियो भने निरन्तरता हुन सकिन्छ भन्ने मलाई लाग्छ ।
४. कलाकारको जिन्दगी र सामान्य व्यक्तिको जिन्दगीमा के फरक छ ?
दु:ख गर्ने जोकोहीले पैसा कमाउन सक्छ तर नाम कमाउने कुरा गाह्रो हो । एउटा कलाकार भएपछि नाम कमाउन सकिन्छ । सबैले चिन्ने मान्छे हुन सकिन्छ । मरेर जाँदा पनि सामान्य व्यक्तिको भन्दा कलाकारको मलामी अलि धेरै नै हुने गर्दछन । समग्रमा सामान्य व्यक्ति भन्दा कलाकार सामाजिक रुपमा परिचीत हुने हुँदा सबै कुराको ख्याल गर्नुपर्छ । उसका हरेक गतिविधि सबैले ख्याल गरेका हुन्छन् ।
५. विभिन्न समयमा हुने अवार्ड कार्यक्रमले के साच्चिकै कलाकारको स्तर मापन गर्छ त ?
अहिले पछिल्लो समयमा विभिन्न संघ संस्थाद्वारा धेरै अवार्ड कार्यक्रम हुँदै आएको पाइन्छ । केही अवार्डहरु छन् जसले राम्रोलाई राम्रो भनेर अवार्ड दिएको पनि पाइन्छ । तर सबै अवार्डहरु त्यो किसिमको भएको पाइदैन । आफ्नो चिनजानको व्यक्तिलाई अलि बढी प्राथमिकता दिएर राम्रो कलाकारलाई ओझेलमा पारेको पनि पाइन्छ।आजभोलिका केही अवार्ड बाहेक अरु अवार्ड लिँदा पहिलाको जति त्यति धेरै खुसी लाग्दैन । मेरो बिचारमा जसले अवार्ड कार्यक्रम राखेपनि जो राम्रो कलाकार हो । जसले नेपाली संगीत क्षेत्रमा योगदान पुराएको छ । अवार्ड जस्तो पवित्र चीज अरु कुनै कुरा नहेरी जो अवार्डको लागि योग्य छ उसैलाई मात्र दिनुपर्छ।