सन्धिखर्क । अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा बलराम मिश्रले पदभार ग्रहण गरेका छन् । केहीदिन अघि लुम्बिनी प्रदेश सरकारले नियुक्ति गरेका मिश्रलाई अर्घाखाँची अस्पताल सन्धिखर्कले एक कार्यक्रमको आयोजना गरी पदभार ग्रहण गराएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष मिश्रले लामो समयदेखि अलपत्र रहेको ५० सैंयाको अर्घाखाँची अस्पतालको भौतिक पुर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले डायलाईसिस सेवा सञ्चालनको अन्तिम चरणमा पुर्याएको अस्पताललाई छिट्टै सञ्चालन ल्याउने बताउँदै अर्थोपेडिक, इन्डोस्कपी लगायतका अत्याधुनिक प्रविधि ल्याउन पहल गर्ने बताए ।
नवनियुक्त अध्यक्ष मिश्रले गुणस्तरीय र मुस्कानसहितको सेवा प्रदान गर्न स्थास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
कार्यक्रम अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष श्रीकृष्ण भुसाल, सदस्य मेनका पौडेल, अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.जगन्नाथ तिवारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम डा.जगन्नाथ तिवारीको अध्यक्षता र अस्पताल व्यवस्थापक शिव बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।













