
- भारतको कुशीनगरबाट उद्धार गरिएका ४५३ जनामध्ये ४३४ जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको छ।
- बाँकी १९ जनालाई थप अनुसन्धानका लागि रूपन्देही प्रहरीको नियन्त्रणमा राखिएको छ।
- नियन्त्रणमा रहेकाहरूले फिरौती असुली र बन्धक बनाउने जस्ता आपराधिक कार्य गरेको आशंका गरिएको छ।
भैरहवा– भारतको कुशीनगरबाट उद्धार गरिएका ११५ महिला र ३३८ पुरुष गरी ४५३ जनामध्ये अधिकांशलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार १०९ महिला र ३२५ पुरुष गरी ४३४ जनालाई स्थानीय जनप्रतिनिधि र पत्रकारहरूको रोहवरमा प्रक्रिया पूरा गरी मुक्त गरिएको हो।
बाँकी ६ महिला र १३ पुरुष गरी १९ जनालाई थप अनुसन्धानका लागि रूपन्देही प्रहरीको नियन्त्रणमा राखिएको छ।
उद्धार गरिएकाहरूलाई शनिबार दिउँसो ८ वटा बसमार्फत भारतीय प्रहरीको सहकार्यमा बेलहिया नाका हुँदै जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो।
प्रहरीका अनुसार अनुसन्धानमा रहेकाहरूमध्ये केहीले नेपाली नागरिकलाई भारत लगेर नेटवर्किङमा प्रयोग गर्ने, फिरौती असुली गर्ने तथा अस्वीकार गरे बन्धक बनाउने कार्यमा संलग्न भएको प्रारम्भिक आशंका गरिएको छ।













