
- पोर्चुगलमा आपसी एकता र भाइचारा बढाउने उद्देश्यले आगामी अक्टोबर १८ तारिखमा आठौँ तमु कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
- प्रतियोगितामा विजेताले ५ हजार १५१ र उपविजेताले २ हजार ५५१ युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- युरोपभरिका नेपाली टोलीलाई समेटेर हुने यस प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तिब्र पारिएको छ।
लिस्बन । पोर्चुगलमा नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको भावना अभिवृद्धि गर्ने उद्देश्यले तमु समाज पोर्चुगलले आठौँ तमु कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी अक्टोबर १८ तारिखका दिन लिस्बनस्थित Vitoria Clube de Lisboa मा हुने आयोजकले जनाएको छ।
झन्डै ४० लाख नेपाली रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न समाजले तयारी तीव्र पारेको छ। युरोपभरिका नेपाली फुटबल टोलीको सहभागिता रहने अपेक्षासहित प्रतियोगिताको तयारी गरिएको आयोजकको भनाइ छ।
तमु समाज पोर्चुगलका वरिष्ठ उपाध्यक्ष नेत्र गुरुङले प्रतियोगिताको उद्देश्य कुनै पनि टोली, क्लब वा खेलाडीलाई छुटाउने नभई सबैलाई समेटेर आपसी भाइचारा, एकता र सद्भाव बलियो बनाउनु रहेको बताए।
“हाम्रो उद्देश्य कुनै पनि टिम, क्लब वा साथीहरूलाई छुटाउने, बेवास्ता गर्ने वा उपेक्षा गर्ने होइन। सबैलाई समेट्दै आपसी भाइचारा, एकता, सद्भाव र खेलकुदको भावनालाई अझ बलियो बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो,” गुरुङले भने।
त्यस्तै, समाजका उपाध्यक्ष विकास गुरुङले आठौँ तमु कपलाई सफल बनाउन सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताए। उनले युरोपभरिबाट टोलीहरूको सहभागिता गराउने लक्ष्यसहित यसपटक विशेष मेहनत गरिएको उल्लेख गरे।
“हामी सबै एउटै खेलकुद परिवार हौँ। आपसी समझदारी, सहयोग र सद्भावका साथ आठौँ तमु कपलाई सफल बनाउन यहाँहरू सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ। युरोपभरिबाट सहभागिता रहने आशासहित यसपटक हामीले भरपुर मेहनत गरेका छौँ,” उनले भने।
प्रतियोगितामा विजेता टोलीले पाँच हजार १५१ युरो नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीलाई दुई हजार ५५१ युरो नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका अध्यक्ष मिलन गुरुङले जानकारि दिए ।
प्रवासी नेपाली समुदायमा फुटबल प्रतियोगिताले खेलकुद प्रतिभाको पहिचान, नेपाली समुदायबीच सम्बन्ध विस्तार र आपसी सद्भाव प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। आठौँ संस्करणको तमु कपलाई विगतका वर्षभन्दा अझ व्यवस्थित र भव्य बनाउने लक्ष्यसहित आयोजक जुटेको छ।













