अर्घाखाँची । जंक फुड, मोबाइलको चरम प्रयोग र शारीरिक व्यायामको अभावमा बालबालिकामा सानै उमेर देखि नै स्वास्थ्य समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।
विशेषगरि जंक फुड खाने, मोबाइलमा लामो समय बिताउने र शारीरिक क्रियाकलाप नगर्ने प्रवृत्तिले बालबालिकामा आँखा दुख्ने, हेर्न नसक्ने, आँखा पोल्ने, टाउको दुख्ने, चाँडो रिसाउने, एकान्तमा बस्ने र डिप्रेसनमा जाने जस्ता समस्या देखिने गरेको चिकित्सकहरूको भनाई छ । १२ बर्ष मुनिका बालबालिकालाई लक्षित गरि रेन्बो मन्टेश्वरी स्कुलले शनिवार सन्धिखर्कमा आयोजना गरेको १ दिने निशुल्क स्वास्थ्य शिविरमा बालबालिकाको स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मीहरूले यस्तो बताएका हुन् ।
मोबाइलका कारण बच्चाहरूमा एक्लोपनाको समस्या बढ्न थालेकोले सचेत रहन अभिभावकलाई उनीहरूको सुझाव छ । यसको मुख्य कारण भनेको घरका पाका सदस्यले बालबालिकाको रुचि अनुसार समय दिन नसक्नु रहेको स्वास्थ्यकर्मीहरूको बुझाई छ ।
“बालबालिकाले आफ्नो मनका भावना आमाबुबालाई भन्न नपाउँदा एक्लोपन महसुस गर्छन् ।” शिविरमा सहभागी आँखा विशेषज्ञ रतिशचन्द्र मिश्रले भने, “अभिभावकले समय निकालेर बालबालिकालाई खेल्न दिनु पर्छ ।” शारीरिक व्यायाम र सक्रियता बढाउने, अतिरिक्त क्रियाकलापमा लगाउने, घरमा बनाएको खानेकुरा खुवाउने, पानी, फलफूल, अण्डा, दूध र हरियो सागसब्जी पर्याप्त खाने बानी गराउने र बच्चालाई धेरै समय प्रदान गर्न उनको सुझाव छ ।
“बालबालिकालाई के खुवाउने ? के नखुवाउने ? भन्ने बारे सबै अभिभावकलाई थाहा छ । तर पनि अभिभावक व्यस्तताका कारण जंक फुडको प्रयोग बढाउँदै लगेका छन् ।” दन्त रोग विशेषज्ञ डाक्टर महेन्द्र प्रताप रायमाझीले भने ।,“बाहिरी खाना धेरै खाने अनि खेलकुद लगायतका शारीरिक व्यायाम नगर्ने कारण कतिपय बालबालिका मोटोपनको सिकार पनि भइरहेका छन् ।”
रेन्बोको शिविरमा करिब ४ सय बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा अधिकांश बालबालिकाको आँखा सुक्खापन हुने, दृष्टिदोष हुने, परेलाको चाँया, दाँत किराले खाने, मुख, जिब्रो तथा गिँजामा घाउ आउने जस्ता समस्या देखा परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
निशुल्क स्वास्थ्य शिविर अर्घाखाँची जिल्ला अस्पताल, आँखा उपचार केन्द्र अर्घाखाँची र निदान डेन्टल केयरको प्राविधिक सहयोगमा सम्पन्न भएको विद्यालयका प्रबन्ध निर्देशक रमेश चुँदालीले जानकारी दिए ।
















