माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहेको छ भने अर्कोतिर गाउँमाथि अजंगको पहाड छ, जुन भूकम्पले चिराचिरा छ। पालिगाउँको सिरानमा रहेका राता पर र थुम्केवाजा भन्ने पहाडका थुम्का कुन समय झर्छ टुंगो छैन।

पुन भन्छन्, ‘रातभर निदाउ नै सकिँदैन। सुतेको बेला पहाड खस्छ कि भन्ने चिन्ताले सताइरहेको छ। महिना दिन भयो राम्रोसँग सुत्न सकेको छैन। आफ्नोभन्दा पनि छोरानातिको चिन्ता लाग्छ। निन्द्रा नै हरायो।’ भूकम्पले लेक, औंल र गाउँमा रहेका ६ वटा घर भत्किएका छन्। उनले सरकारलाई विज्ञ पठाएर स्थलगत अध्ययन गर्न मागसमेत गरे।

पालिगाउँको सिरानका थुम्का र बस्ती चिराचिरा परेको छ। पहाडको काखमा रहेको पाली गाउँ भूकम्पपछि निकै असुरक्षित छ। ‘सबै त्रासमा छौं स्थानीय नरजित रानाले भने, ‘भूकम्पपछि हाम्रो भोक निन्द्रा सबै हरायो। गाउँ तल छ माथि डाँडो भासिएको छ चिराचिरा परेको छ। वर्षात् हुन थालेको छ। चिरा परेको भागमा पानी परेपछि पहिरो आउन सक्ने त्रासमा छौं।’

करिब ६० घरधुरी रहेको पालिगाउँका सबै त्रासमै रहेको उनले सुनाए। ‘त्रिपालमा बसेर पनि हामी सुरक्षित हुने अवस्था छैन। माथिबाट पहाड खस्ने डर छ’, उनले भने, ‘यहाँ बस्न मिल्छ कि मिल्दैन। यस ठाँउको भौगर्भिक अध्ययन गर्न आवश्यक छ। यदि जोखिम यसरी कायमै रहने हो भने बस्ती नै सार्नुपर्ने हुन्छ। यसका लागि सरकारले बेलैमा केही पहल गरोस्।’

परकम्प आइरहेका छन्। जमिन हल्लीरहेको छ। जमिन हल्लिँदा माथि पहाडबाट माटो खसेको देखिन्छ त्यही भएर पनि झन स्थानीय आत्तिने गरेको उनले सुनाए।

त्यस्तै, नलगाड नगरपालिका–१ चिउरी गाउँ जहाँ भूकम्पले १३ जनाको ज्यान लिएको थियो। त्यो बस्ती पनि निकै जोखिममा रहेको स्थानीयको भनाइ छ। यसअघि वर्षात्को बेला यो गाउँ केही भासिएको थियो। अहिले पनि ठाउँ–ठाउँमा चिरा परेको छ। सडक छेउछाउमा पनि चिरा परेका छन्। माथि पहाड छ तल गाउँ छ। पहाडको टुप्पो पनि चिरा परेको छ। भूकम्पको सानो धक्का जाँदा पनि ढुंगा खस्ने गरेका छन्। जसले गर्दा निकै असुरक्षित भएको महसुस गरिरहेको स्थानीय विमल विकले बताए।

उनले भने, ‘त्रिपालमा बसेर पनि सुरक्षित छैनौं। फेरि भूकम्प गयो भने पहाड नै खस्छ कि भन्ने डर लाग्छ। चिन्ताले रातको निन्द्रा नै हरायो।’ यसअघि पनि वर्षात्को बेला गाउँ भासिन थालेको भन्दै बस्ती नै स्थानान्तरणका लागि आवश्यक पहल गर्न भन्दै स्थानीय तहबाट जिल्ला विपद् व्यवस्थापन समिति हुँदै गृह मन्त्रालयमा माग गरिएको थियो। तर, सुनुवाइ नहुँदा स्थानीय जोखिम मोलेर बस्न बाध्य भएका छन्।

करिब दुई सय घरधुरी रहेको चिउरी गाउँमा पहिरो खस्ने र गाउँ नै बगाउने डर उत्तिकै रहेको उनले बताए। त्यसैगरी, नलगाड नगरपालिका–७ खेतगैरी गाउँ पनि निकै जोखिममा रहेको स्थानीयको भनाइ छ। बस्ती तल छ। माथि भिरालो ठाउँ छ। भूकम्पले जमिन फुटेर चिरा परेको छ।

‘ढुंगा र माटो अहिले पनि झरिरहेको छ’, स्थानीय शेरबहादुर वलीले भने, ‘चिन्ताले राति निन्द्रा नै लाग्दैन। पालो गरेर दिउँसो सुत्ने गरेका छौं। कात्तिक १७ को भूकम्पले बचाए पनि अहिले पनि हल्लाइरहेको छ। त्रिपालको बास छ। चिसो बढिरहेको छ। माथिबाट पहाड खस्ने हो कि भन्ने चिन्ता लाग्छ।’ उनले सरकारले भूकम्पले गर्दा जोखिममा रहेका गाउँहरूको भौगर्भिक अध्ययन गर्नुपर्ने बताए। Annapurna

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?