अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल तथा कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदले अर्घाखाँचीमा पर्यटनका विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।
लुम्बिनी तथा सुपा देउरालीमा आएका पर्यटकहरूलाई जिल्लाका अन्य स्थानमा पुराउनका लागि कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले छलफल गरेका थिए । उनले लुम्बिनीका अन्य जिल्लाहरूमा आएका पर्यटकलाई जिल्लामा ल्याउन र यसको प्रचारप्रसारमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि सरोकारवालाहरूसँग जानकारी लिएका थिए ।
जिल्लामा रहेका अर्घा भगवती मन्दिर, छत्र महाराजको मन्दिर, पाणिनि तपोभूमि, नरसिंह थान, सिद्धेश्वर शिवालय, जंगबहादुर जन्मिएको लामपाटी दरवार, ऐतिहासिक बलकोट पौवा, मालारानी लगायतका स्थानको महत्व, वर्णन तथा ती स्थानमा कसरी पर्यटकहरूलाई भित्राउन सकिन्छ भन्ने विषयमा सहभागीहरूले आ–आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, अर्घा भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, बलकोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश कुमार पन्थी, वैकुण्ठ पुरी सङ्ग्राहालयका सञ्चालक नीमबहादुर रिजाल, व्यवसायी नेत्र प्रसाद भुसाल, होटल व्यवसायी संघका अध्यक्ष खेतुलाल उपाध्याय, लोकतान्त्रिक होटल व्यवसायी संघका अध्यक्ष नवराज भण्डारी, चेम्बर अफ कमर्सका कोषाध्यक्ष राम कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, सहसचिव हृदय कुमार भुसाल, कोषाध्यक्ष रुद्रमणि भुसाल लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।













