अर्घाखाँची । अर्घाखाँची जिल्लामा सञ्चालित ५ सय १८ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा हालसम्म ३ हजार ८ सय ३८ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये ५ सय १८ उद्योगको दर्ता खारेज भएको हुन्। हालसम्म उत्पादनमूलक ३ सय ९४, कृषि १ हजार ९ सय ८५, निर्माण दुई सय ५, पर्यटनमूलक ३ सय ३४, सूचना प्रविधि १४, सेवामूलक ३ सय ८१ खनिजजन्य ६ गरी, ३ हजार ८ सय ३८ उद्योग दर्ता भएका छन्।
कच्चा पदार्थ अभाव, दक्ष जनशक्तिको अभावका कारण उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।
कार्यालयका अनुसार कतिपय उद्योगहरू सरकारबाट प्राप्त हुने अनुदानको लागि खोलिने र अनुदान पाए पछि वा नपाएकै भरमा खारेजी गर्ने प्रवृत्तिका कारण बन्द भएका छन् । कुनै सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका छन भने दर्ता भएका उद्योग सञ्चालनको यथेष्ट ज्ञान र सीप सचेतिकरणको अभावका कारण पनि बन्द भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले ७ लाख ८३ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आव २०८०/८१ को फागुनसम्म दश लाख ५८ हजार २५० राजस्व संकलन भएको छ ।