प्रदेशको भागबन्डा : लुम्बिनीसहित माओवादीलाई २ मुख्यमन्त्री

काठमाडौं । प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ । अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकमा प्रचण्डले भनेका छन्, ‘प्रदेश सरकारबारे भोलि बेलुकासम्म टुंगिन्छ ।’

सम्भावित भागबन्डा

एमाले : कोशी, गण्डकी र कर्णाली

माओवादी : बागमती र लुम्बिनी

जसपा : मधेश

स्रोतका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने तयारी छ ।

एक नेताका अनुसार कोशीमा एमालेले नेतृत्व गर्ने विषय टुंगिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पनि छ । प्रदेशको सबभन्दा ठूलो दल एमालेका ४० प्रदेश सांसद छन् भने माओवादीका १३ र एकीकृत समाजवादीका ४ सांसद छन् । गठबन्धनसँग प्रष्ट बहुमत भए पनि सरकार गठन सहज छैन ।

यहाँ प्रदेशसभा निर्वाचन भएको एक वर्षमै ५ वटा सरकार बनिसकेको छ । सुरुमा एमाले, माओवादी गठबन्धनबाट एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बने । केन्द्रमा गठबन्धन फेरिएपछि नेपाली कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । दुवै पटक सर्वोच्च अदालतले पदमुक्त गरेपछि एमालेका कार्की अल्पमतको मुख्यमन्त्री बने । उनले पनि विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८(५) अनुसार कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने ।

कांग्रेसबाट विद्रोह गरेका उनलाई एमालेले समर्थन गरेर मुख्यमन्त्री बनाएको थियो । तर अहिले केन्द्रको सत्ता समीकरण फेरिएसँगै एमाले आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ, तर आफैंले बनाएका मुख्यमन्त्री बाधक बनेका छन् ।

केदार कार्की राजीनामा नदिने अडानमा छन् । आफूले राजीनामा दिए प्रदेशसभा विघटनमा जाने र मध्यावधि निर्वाचन हुने उनको तर्क छ । त्यही कारण माओवादी र एकीकृत समाजवादीले सरकार छाडेका छैनन् । नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री कार्कीको राजीनामा मागेको एमाले नेताहरुले भने १६८(५) अनुसार नै नयाँ सरकार बन्ने दाबी गरिरहेका छन् ।

गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज देखिएको छैन । कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बहुमत जुटाउने प्रयासमा छन् । उनले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाएका छन् भने दुई प्रदेश सांसद भएको राप्रपाको समर्थन लिने प्रयास गरेका छन् ।

आफू स्वतन्त्र सांसद भएको मनाङेको दाबी सदर भएमा एमाले–माओवादी संकटमा पर्नेछन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । एमालेसँग २२ र माओवादी केन्द्रसँग (सभामुख सहित) ८ प्रदेश सांसद छन् । सबभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ प्रदेश सांसद छन् भने राप्रपाका २ र दीपक मनाङे छन् ।

४० सदस्यीय प्रदेशसभा भएको कर्णालीमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । एमाले–माओवादी गठबन्धनसँग सहज बहुमत छ । माओवादीसँग १३ र एमालेसँग १० सांसद छन् । माओवादीले शर्मालाई निरन्तरता दिन चाहे पनि यो पटक एमालेले लिने सहमति नजिक रहेको नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार बागमती र लुम्बिनीको मुख्यमन्त्री माओवादी केन्द्रले लिने सम्भावना छ ।

बागमतीमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् । एमालेको समर्थनका बाबजुद उनलाई बहुमत जुटाउन भने सहज छैन । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । एमालेका २७, माअ‍ोवादीका २१ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

एमाले–माओवादीका नेताहरुले दुई सांसद भएको हाम्रो नेपाली पार्टीको समर्थन खोजेका छन् । तर उक्त पार्टीले मुख्यमन्त्री पाए मात्र समर्थन गर्ने अडान राखेका कारण बहुमत जुट्न सकेको छैन ।३७ प्रदेश सांसदसहित सबभन्दा ठूलो दल रहेको कांग्रेस पनि एमाले–माओवादी गठबन्धनलाई बहुमत पुर्याउन नदिन प्रयासरत छ ।

१४ प्रदेश सांसद भएको राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई समर्थन नगर्ने भएको छ । ३ सांसद भएको नेपाल मजदुर किसान पार्टी र २ सांसद भएको हाम्रो नेपाली पार्टीलाई अहिलेको गठबन्धनको पक्षमा जानबाट रोक्न सके जम्कट्टेलले विश्वासको मत नपाउने र सबभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकार बनाउने कांग्रेसको रणनीति छ ।

सत्ता गठबन्धनमा भएको छलफलमा एमालेले बागमतीको मुख्यमन्त्रीमा दाबी छाडेको छैन । ‘बागमती हामीले लिए एमालेले लुम्बिनी नछाड्ने संकेत गरेको छ’, माओवादीका एक नेता भन्छन् । तर एमालेले कर्णाली लिन चाहेकाले लुम्बिनीमा सहमति जुट्ने सम्भवना रहेको नेताहरु बताउँछन् ।

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नेतृत्वको सरकार छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७ सांसद छन् । राप्रपा (४), लोसपा (३), जनमत (३), जनमोर्चा (१) को समर्थन जुटाउँदा पनि मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन सक्ने अवस्था छैन ।

एमाले–माओवादी गठबन्धनसँग पनि प्रष्ट बहुमत छैन । एमाले (२९) माओवादी (सभामुख बाहेक ८), जसपा (३) र एकीकृत समाजवादी (१) जोड्दा ४१ हुन्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार बनाउने एमाले र माओवादी नेताहरुको तयारी छ ।

सुदूरपश्चिम नाउपालाई दिन तयार

नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिएर भए पनि लुम्बिनीमा समर्थन जुटाउने दलहरुको तयारी छ ।

तर नाउपा आफैंमा विभाजित छ । संरक्षक रेशम चौधरीको जोडबलमा नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ । तर केन्द्रमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जोडबलमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ ।

५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् माओवादीका ११ र एमालेका १० सांसद छन् । सरकार गठनमा निर्णायक रहेको नाउपासँग ७ सांसद छ । मुख्यमन्त्री कमल शाहले नाउपासँगै राप्रपा (१) र स्वतन्त्र सांसद तारा जोशीको समर्थन लिएर बहुमत जुटाउने कोसिस गरेका छन् ।

सत्ता गठबन्धनमा मधेश प्रदेशको सरकारको नेतृत्व जसपाले नै गर्ने सहमति भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने शर्तमा जसपा केन्द्र सरकारमा आएको नेताहरु बताउँछन् । मुख्यमन्त्रीमा दाबी गरेको एमालेले समेत संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा मन्त्री पठाइसकेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?