अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको शालिक निर्माण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको १२ औं जिल्ला अधिवेशनको सन्दर्भमा शहिद मनोज, झपेन्द्र, सुरेन्द्र पार्कमा निर्माण गरिएका शालिक अनावरण कार्यक्रम भोली शनिवार हुने भएको छ ।
कर्मचारीको हकहितको पक्षमा लड्दा लड्दै ज्यानको आहुती दिएका तीनजना शहिदको सम्झनामा अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा शहिद मनोज, झपेन्द्र, सुरेन्द पार्क निर्माण गरिएको छ । सोही पार्कमा तीन जना शहिदको शालिक निर्माण गरिएको निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।
शालिकको भोली विहान नरपानीमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनावरण गर्ने कार्यक्रम रहेको संगठनका जिल्ला कोषाध्यक्ष एवं प्रचारप्रसार उपसमिति सदस्य विशाल महतले जानकारी दिएका छन् ।
शालिक अनावरण पछि सन्धिखर्कको संगम फुड ल्याण्डमा विहान ११ बजे भव्य कार्यक्रमका विच १२ औ जिल्ला अधिवेशनको उद्धाट्न शत्र सञ्चालन हुनेछ । उद्धाटन समारोहमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, प्रतिनिधि सभाका सदस्य विजुला रायमाझी, प्रदेश सांसद रामजीप्रसाद घिमिरे लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला कोषाध्यक्ष महतको भनाइ छ ।
नरपानीबाट धेरै हिमाल देख्न पाइने हुनाले यहाँ पर्यटक आउने गर्दछन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या बढेको छ । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न र नरपानीमा आएका पर्यटकलाई अझ आकर्षित गर्ने उदेश्यले शहिद मनोज, झपेन्द्र, सुरेन्द पार्क कर्मचारी सङ्गठनको पहलमा निर्माण गरिएको संगठनका जिल्ला सचिव पशुपति खनालले बताए ।
’पिकनिक’ स्थलको रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि पर्यटक आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी पुग्न सकिन्छ । गोरुसिङ्गे–सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् ।
कर्मचारी संगठन अर्घाखाँचीको १२ औं जिल्ला अधिवेशन र शालिक अनावरण गरिदै


पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्