पाणिनी । पाणिनी गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतम पौडेलले पालिकालाई देशकै उत्कृष्ट पालिका बनाउने गरी काम गरिरहेको बताएकी छिन् ।
पाणिनी गाउँपालिकाको आयोजना र बोर्डरलस मिडिया हव प्रा.लि.ले सहजिकरण गरेको आ.व.२०८१/०८२ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै कार्यवहाक पालिका अध्यक्ष समेत रहेकी पौडेलले शुसासन र पारदर्शितामा देशकै उत्कृष्ट पालिका बनाउने बताउँदै उनले जनप्रतिनिधिहरु सबै क्षेत्रमा विज्ञता नभएकाले सबैले हातेमालो गर्दै विकास निर्माणलाई तिव्रता दिने बताईन् ।
वडा नं. ५ को वडा कार्यालय सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सोधेका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष पौडेलले पालिकाबासीका हरेक सल्लाह सुझावलाई ग्रहण गर्दै जाने र हरेक योजना/आयोजनाको अनुगमनलाई मजबुत बनाउँदै जाने धारणा राखिन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पाणिनीलाई शुसासनमैत्री बनाउन कर्मचारीहरु एकजुट भएर काम गरेको बताए । उनले गाउँपालिकामा प्रचुर सम्भावना बोकेका हरेक धार्मिक, पर्यटन, साँस्कृतिक, खनिज पदार्थ, जटीबुटीजन्य वस्तुको अनुसन्धान गरी लगानी गर्ने र पालिकालाई हरेक कुरामा आत्मनिर्भर बनाउन सबै लाग्नु पर्ने धारणा व्यक्त गरे । गत आर्थिक वर्षमा पाणिनी बेरुजुमा लुम्बिनी प्रदेशको पहिलो पालिका बनेको स्मरण गर्दै सबै मिलि बेरुजुलाई शुन्यमा झार्न सकिने बताए ।

यस्तै वैदेशिक रोजगारीमा विभिन्न देशमा गई कामको अनुभव गरी स्वेदश फर्किएका युवाले गाउँपालिकालाई अनुभव र सीप प्रदान गर्न सकेमा रोजगारी श्रृजना गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हरि प्रसाद घिमिरे, ५ का वडाध्यक्ष ईन्द्रमणि घिमिरे, प्राविधिक शाखा प्रमुख ईञ्जिनियर मोहराज पौडेल, शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल, कृषि शाखा प्रमुख मेघराज पौडेल, जनस्वास्थ्य निरिक्षक राम प्रसाद घिमिरेले सेवाग्राहीबाट उठेका जिज्ञासा, प्रश्नहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रम सहजकर्ता गणेश खनालले नागरिक अभिमत र नागरिक बर्हिगमन प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम सहजकर्ता बिष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।












