
- कपिलवस्तुमा मुस्लिम समुदायले हर्षोल्लासका साथ बकर ईद मनाउँदै छन्।
- लुम्बिनी प्रदेश सांसद र मेयरले आपसी सद्भाव र एकताको शुभकामना व्यक्त गरेका छन्।
- हजरत इब्राहिमको त्यागको स्मरणमा गरिब र आफन्तलाई मासु बाँड्दै यो पर्व मनाइन्छ।
कपिलवस्तु : मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-अजहा (बकर ईद) कपिलवस्तुमा हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) सुधाकर पाण्डेय तथा कपिलवस्तु नगरपालिका मेयर एवं लोकप्रिय युवा नेता सुदिप पौडेलले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
ईदगाहमा उपस्थित भई दुवै जनप्रतिनिधिले मुस्लिम समुदायसँग अंकमाल गर्दै शुभकामना आदानप्रदान समेत गरेका थिए। प्रदेश सांसद पाण्डेयले नेपाल बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता बोकेको देश भएको उल्लेख गर्दै बकर ईदजस्ता पर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाउने बताउनुभयो। उहाँले विविधताबीचको सहअस्तित्व र देशप्रेमको सम्बन्ध सधैं अक्षुण्ण रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै मेयर सुदिप पौडेलले पनि सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दै जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम रहोस् भन्ने कामना गर्नुभयो।
धार्मिक मान्यताअनुसार बकर ईद हजरत इब्राहिम (अ.स.) को त्याग र कुरबानीको स्मरणमा मनाइन्छ। इस्लामिक विश्वासअनुसार अल्लाहको आदेशपछि हजरत इब्राहिम (अ.स.) ले आफ्नो छोरा इस्माईल (अ.स.) को कुरबानी दिन खोज्दा अल्लाहले प्रसन्न भई उनको स्थानमा भेडाको कुरबानी स्वीकार गरेको मानिन्छ।
यस अवसरमा मुस्लिम समुदायले खसी, भेडा, राँगा लगायतका जनावरको कुरबानी गर्ने परम्परा पालन गर्दै आएका छन्। कुरबानीको मासु तीन भागमा विभाजन गरी एक भाग गरिब तथा असहायलाई, दोस्रो भाग आफन्त तथा साथीभाइलाई र तेस्रो भाग परिवारमा प्रयोग गरिन्छ।
इस्लामिक धर्मअनुसार कुरबानी सुन्नत तथा वाजिब इबादत मानिन्छ। धार्मिक जानकारहरूका अनुसार यो कार्य हजरत इब्राहिम (अ.स.) को सुन्नत हो र कुरान शरीफमा समेत यसको उल्लेख गरिएको छ।
कुरबानी सम्बन्धी जानकारी अहेले सुन्नत मदरसाका पेस इमाम हजरत मौलाना अलि हसन निजामीले सञ्चारकर्मी इमरान खानसँगको कुराकानीमा दिएका हुन्।
नेपालमा खसी, भेडा, भैंसी, राँगा तथा ऊँटको कुरबानी गर्ने चलन रहेको छ। गाईको सन्दर्भमा भने गाई राष्ट्रिय जनावर तथा पूजनीय भएकाले यहाँ गाईको कुरबानी नगर्ने परम्परा रहेको छ । भैंसी वा ऊँटको कुरबानी गर्दा सात जनासम्म मिलेर गर्ने धार्मिक मान्यता रहेको छ।
ईद-उल-अजहा इस्लामी महिनाको १०, ११ र १२ तारिखसम्म मनाइने परम्परा अनुसार मनाइन्छ। यस वर्ष मिति २०८३ जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिइएकोमा मुस्लिम समुदायहरुले नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन ।
✍️ कपिलवस्तुबाट संवाददाता इमरान खानको रिपोर्ट




















