
- कपिलवस्तुमा ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ।
- नगरपालिकाको सहयोगमा ६० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरियो।
- नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकको अनुभव र योगदान अमूल्य रहेको बताउनुभयो।
कपिलवस्तु : कपिलवस्तुमा नेपाल अर्बुद रोग निवारण संस्था (नेपाल क्यान्सर प्रिभेन्सन एसोसिएसन) कपिलवस्तु शाखाको आयोजना तथा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
कपिलवस्तु नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका ६० जना ज्येष्ठ नागरिकलाई दोसल्ला, सम्मान–पत्र, ग्लुकोज र ग्लास प्रदान गरी सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा सुनिश्चित गर्नु समाजको सामूहिक जिम्मेवारी रहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले भन्नुभयो, “म दिनभरि धेरै कार्यक्रममा सहभागी हुने अवसर पाउँछु, तर आजको यस कार्यक्रममा सहभागी हुन पाउँदा मेरो मन निकै प्रसन्न भएको छ। मेरा अग्रज आदरणीय व्यक्तित्वहरूसँग बिताउन पाएको यो पल मेरो जीवनको महत्वपूर्ण पल हुनेछ।”
उहाँले ज्येष्ठ नागरिकहरूको अनुभव, योगदान र मार्गदर्शन समाजका लागि अमूल्य रहेको उल्लेख गर्नुभयो। यस्ता कार्यक्रमहरूले ज्येष्ठ नागरिकहरू, विशेषगरी एकल महिलाहरूलाई आपसी संवाद, अनुभव आदानप्रदान तथा सामाजिक सम्बन्ध अझ बलियो बनाउने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो।
नगर प्रमुख पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।













