
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ।
- पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाइएको छ।
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले मूल्य समायोजन गरिएको हो।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। निगमका अनुसार मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ प्रतिलिटरले घटाइएको छ। त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य १ सय रुपैयाँ प्रतिसिलिन्डरले घटाइएको छ।
मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टीतेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँ कायम भएको छ। यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०६० रुपैयाँ पुगेको छ।
मध्यपूर्वमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।













