सुर्खेत । कर्णाली प्रदेशमा पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे छ ।
प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हाे । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिवार अस्ति मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।
थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी थिइन् । प्रत्यारोपण कार्यमा काठमाण्डाै उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।













