काठमांडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद हरी ढकालले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए । उनले भने, “यही भित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ । मर्यादापालक दाजुभाई, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।”
त्यसैगरी उनले संघीय संसद सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानविन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे ।













