चौधरीले राजीनामा दिएसँगै लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बन्दै

बुटवल । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामासँगै नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले जनाएको छ ।

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीको संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गर्ने भएका छन् । महराका लागि एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन भएको छ । नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने सम्भावना भए पनि आन्तरिक विवादका कारण उनीहरूले हस्ताक्षर गरेका छैनन् । प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया अघि बढेको बताए । मुख्यमन्त्रीको राजीनामा र नयाँ मुख्यमन्त्रीका लागि दाबी आइसकेको उनले बताए ।

प्रदेशसभामा सहभागी ८ दल र एक स्वतन्त्र सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरी २०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा गठबन्धन फेरिएपछि माओवादीले सरकारबाट फागुन २३ मा समर्थन फिर्ता र अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने गरी बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वानका लागि सिफारिस गरेका थिए । साना दललाई मिलाएर विश्वासको मत लिने प्रयास सफल नभएपछि उनले राजीनामा दिएका हुन् ।

महरालाई समर्थन गर्ने विषयमा माओवादीका स्वयं महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ५ बुँदे सहमति पनि गरेका छन् । सहमतिपत्रमा प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरूको नेतृत्व पंक्तिमध्येबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।

मुख्यमन्त्री चौधरीले भने सरकार बनेकै दिनबाट दिनगन्ती सुरु हुनु संघीयता कार्यान्वयनका लागि चिन्ताको विषय भएको बताए । उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘प्रदेशमा हामी आफैंले कुनै पनि स्रोतको पहिचान र विकास गर्न सकेका छैनौं, मात्र मन्त्री र मुख्यमन्त्री बन्ने होडमा रमाइरहेका छौं,’ उनले भने, ‘मुख्यमन्त्रीको फोटो झुन्ड्याएर हामी रमाए पनि जनतामा चरम निराशा बढेको छ । त्यसको सम्बोधन हामीले गर्न सकेका छैनौं ।’ उनले प्रदेश सरकारको स्थायित्व जरुरी रहेको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक सांसद निलम्बनमा परेपछि अहिले ८६ सदस्य कायम छन् । सरकार गठन गर्न कम्तीमा ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद छन् । माओवादी नेता महराको पक्षमा एमाले २९, माओवादी १०, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र १ गरी ४४ जनाको समर्थन जुटेको छ । त्यसमा साना दलबाट संख्या थपिँदै जाने माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

माओवादीका स्थायी समिति सदस्यसमेत रहेका महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका थिए । उनले एमालेका कमल बुढाथोकीलाई १४ हजार २० मतान्तरले पराजित गरेका थिए । महराले १९ हजार ४ सय २५ मत ल्याएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा रोल्पाको सुनीलस्मृति गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी २०७९ माघमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा झन्डै ३ महिना अर्थमन्त्री बनेका थिए । -कान्तिपुर

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?