
- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आर्थिक वर्षको प्रगति, सेवा प्रवाह र देखिएका चुनौतीहरूबारे वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्राथमिकताका आधारमा योजना छनोट र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
- गत वर्ष जग्गा वर्गीकरण, विद्यालय समायोजन र अस्पताल सञ्चालनजस्ता महत्त्वपूर्ण काम भएको जानकारी दिँदै आगामी दिनमा सेवा प्रवाह अझ सुधार्ने अपेक्षा गरिएको छ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरिएका काम तथा सेवा प्रवाहको अवस्थाबारे वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडा तथा शाखामार्फत भएका काम, योजनाको प्रगति, सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे समीक्षा गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पाणिनी गाउँपालिकालाई जिल्ला र देशकै नमुना स्थानीय तह बनाउने लक्ष्यसहित काम गर्न आग्रह गरे । उनले नागरिकका अपेक्षा असीमित भए पनि स्रोतसाधन सीमित रहेकाले प्राथमिकताका आधारमा योजना छनोट र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कोइरालाले दक्ष जनशक्तिको व्यवस्थापन गर्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्नुपर्ने बताउँदै संघीय सरकारले प्रदेश र स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गरे ।
पाणिनी गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण पौडेलले वार्षिक समीक्षा औपचारिकतामा मात्र सीमित हुन नहुने बताए । उनले पालिकाले गरेका कामको उपलब्धि, कमजोरी र सुधारका पक्ष पहिचान गर्न व्यापक तथा प्रभावकारी समीक्षा आवश्यक रहेको औँल्याए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले समीक्षाका क्रममा जनशक्ति अभावलगायतका समस्या र चुनौती पहिचान भएको बताए । संघीय सरकारले निर्धारण गरेको दरबन्दीअनुसार स्थानीय तहको कार्यसम्पादन गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै उनले उपलब्ध जनशक्तिको उचित परिचालनमा ध्यान दिनुपर्ने बताए ।
खनालले नागरिकलाई योजना वितरण गर्नु मात्र पर्याप्त नहुने भन्दै योजनाको प्रभावकारी कार्यान्वयन, गुणस्तर कायम र नियमित अनुगमनमा जोड दिनुपर्ने बताए । पालिकामा अनुगमनको पक्ष कमजोर रहेको उल्लेख गर्दै उनले त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार गत आर्थिक वर्षमा जग्गा वर्गीकरण, शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा पाणिनी आधारभूत अस्पताल सञ्चालनलगायतका महत्त्वपूर्ण काम भएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जनप्रतिनिधिहरू एकताबद्ध भएर काम गर्नुपर्ने बताए । पालिकाले गरेका कामको उपलब्धि नागरिकसम्म पुर्याउन उचित प्रचारप्रसार आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी दिनमा समीक्षा कार्यक्रम जनताकै माझमा पुगेर सञ्चालन गर्नुपर्ने धारणा राखे ।
वार्षिक समीक्षा कार्यक्रमले पालिकाका योजना तथा कार्यक्रमको प्रगति मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र देखिएका कमजोरी सुधार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।













