समृद्ध अर्घाखाँची निर्माणमा सबैको सहकार्य आवश्यक : प्रजिअ ज्ञवाली

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ज्ञवालीले कार्यभार सम्हाल्नुभएको छ।
  • उहाँले जिल्लाको विकास, शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
  • सरकारी निकाय र सञ्चार जगतसँग समन्वय गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँको प्राथमिकता छ।

अर्घाखाँची। अर्घाखाँचीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ज्ञवालीले जिल्लाको विकास, शान्ति सुरक्षा र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

बुधबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा पुगेर आफ्नो कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी ज्ञवालीले नागरिक टेलिभिजन तथा समाचारपोष्टसँगको कुराकानीमा जिल्लाको समग्र विकास र समृद्धिका लागि जिल्लावासी, सरकारी कार्यालय तथा सञ्चार जगतबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका हुन्।

जिल्लामा भर्खरै आएको र यहाँका गतिविधि तथा अवस्थाबारे बुझ्ने क्रममा रहेको उल्लेख गर्दै उनले विकास निर्माण, शान्ति सुरक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा सबैको सहयोग अपेक्षा गरेको बताए।

“समृद्ध अर्घाखाँची निर्माणका लागि जिल्लावासीले योगदान पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा लिएको छु। यस कार्यमा मलाई अर्घाखाँचीवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ,” ज्ञवालीले भने।

उनले जिल्लास्थित विभिन्न सरकारी कार्यालयबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। जिल्लाको समग्र विकासका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी ज्ञवालीले सञ्चार जगतबाट पनि सत्यतथ्य सूचना सम्प्रेषणमार्फत सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे। सञ्चारमाध्यमले तथ्यपरक सूचना प्रवाह गर्दै जिल्लाको विकास, सुशासन र शान्ति सुरक्षाका विषयमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।

जिल्लाको शान्ति सुरक्षा कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सरकारी निकायबीच समन्वय बढाउने विषयलाई प्राथमिकतामा राख्दै जिल्लाको समग्र अवस्था बुझ्ने प्रयास गरिरहेको उनले बताए।

यसअघिका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीकाे कपिलवस्तु सरुवा भएपछि गृह मन्त्रालयको असोज २३ को निर्णयअनुसार उनलाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको थियाे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?