कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले नगरपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै अधुरा रहेका विकास निर्माणका काम पूरा गर्नुपर्ने बताउनुभएको छ।
नगरको विकास सडक तथा बाटोघाटो निर्माणमा मात्र सीमित नभई नगरभित्रका सम्पूर्ण विकासका कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ।
पर्यटकीय स्थलहरूलाई व्यवस्थित बनाउँदै पर्यटक भित्र्याउने, समस्यामा परेका व्यापारीहरूलाई पुनः व्यापार व्यवसाय सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने तथा बेरोजगार युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई यसपालिको मुख्य एजेण्डाका रूपमा अघि सारिएको नगर प्रमुख पौडेलले बताउनुभएको छ।
नगर प्रमुख पौडेलले नगरपालिकाभित्र अधुरा रहेका सडक, पूर्वाधार तथा अन्य विकास निर्माणका योजनालाई पूर्णता दिँदै नगरवासीको अपेक्षाअनुसार विकासका कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँका अनुसार कपिलवस्तु नगरपालिकाको समग्र विकासका लागि अधुरा काम पूरा गर्दै पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार र रोजगारी सिर्जनालाई समेत प्राथमिकतामा राख्नुपर्नेछ।













