शिवलाल पौडेल, काठमाडौँ ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ज्योतिषमा प्रविधिको प्रयोग तथा शिक्षण सामाग्रीको उपयोग विषयक दुइदिने कार्यशाला गोष्ठी वाल्मीकि विद्यापीठको सभाहलमा सम्पन्न भएको छ ।
दुइदिनसम्म चलेको गोष्ठीको उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले संस्कृतभित्र लुकेको विशाल ज्ञानराशिलाई बाहिर प्रकट गर्नुपर्ने भन्दै संस्कृत शिक्षाको विकासप्रति सबैको सद्भाव रहेको उल्लेख गरे । उनले भने, ‘संस्कृत शिक्षाको बारेमा कुरा गर्दा कसैले पनि विरोध गर्दैनन् । यसले सबैको सद्भाव, सहानुभूति र माया पाएको छ । नेपाल सरकार पनि संस्कृत संस्कृतमैत्री भएकाले संस्कृतविद्याका महत्त्वपूर्ण ज्ञानराशिलाई हरेक विभाग र विद्यापीठले बाहिर ल्याउनुपर्छ । अनुदान आयोग त्यसमा हरेक किमिसबाट साथ दिन तयार छ ।
विश्वविद्यालयका कुलसचिव प्रा.माधव अधिकारीले विश्वविद्यालयसँगै ज्योतिष शिक्षण पनि प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । उनले अबको केही समयमै विश्वविद्यालय डिजिटल युगमा प्रवेश गर्न लागेको उल्लेख गर्दै ज्योतिषशास्त्रको शिक्षण सिकाइ पनि आधुनिक र प्रयोगात्मक तरिकाबाट गर्नुपर्नेमा जोड दिए । विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्र पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको र यस क्षेत्रलाई गुणात्मक ढंगबाट पनि विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले ‘शास्त्रीस्तरीय ज्योतिष शिक्षण र शिक्षण सामग्री’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सिद्धान्त ज्योतिष र फलित ज्योतिषमा पढाइ हुने विभिन्न विषयहरूलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै शिक्षण विधि र सामग्रीको उपयोग गरेर शिक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । वाल्मीकि विद्यापीठका उपउ्राध्यापक डा.नारायणप्रसाद निरौलाले ‘ज्योतिषमा प्रविधि’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दे प्रविधिले फड्को मारेको अहिलेको युगलाई स्मरण गराउँदै ज्योतिषशास्त्रलाई पनि नयाँ प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए ।
ज्योतिष विभागका अध्यक्ष प्राडा धनेश्वर नेपालले ‘मानव जीवनमा ग्रहको प्रभाव र महत्त्व’, कार्यक्रमका संयोजक प्राडा जयन्त आचार्यले ‘ज्योतिषमा धूपघडीको उपयोगिता’ कालिका संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव भट्टराईले ‘अधिमास क्षयमास विवेचना’ र उपप्राध्यापक तनुजा दाहालले ‘जातकशास्त्रको शिक्षण विधि र समस्याहरू’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै उपप्राध्यापक हरिप्रसाद पौडेल, डा.पुरुषोत्तम भट्टराई,अम्बरराज ढकाल, गोविन्द सापकोटा, शिवशंकर मण्डल लगायतले आफ्ना कार्यपत्रहरु प्रस्तुत गरेको विभागाध्यक्ष नेपालले जानकारी दिए । कार्यशाला गोष्ठीमा करिब दस वटा कार्यपत्र प्रस्तुत भएका कार्यक्रमका संयोजक एवम् खगोलविद् प्राडा जयन्त आचार्यले जानकारी दिनुभयो ।
गोष्ठीको समापन गर्दै नेपालले प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्ने लगायत विषयमा केन्द्रित रहेको बताए ।












