काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा विदेशिरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताएका छन् ।
मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुकूल निर्धारण हुनुपर्ने बताए ।
उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिष्पर्धा हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए । राष्ट्रपति पौडेलले लोकतन्त्र पछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरि गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गरे । उनले गाउँ किन रित्तिँदै छ ? भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरुको चासो र चिन्ता हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरुरी रहेको पनि बताउनु भयो ।












