सागर परियार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका भित्रका स्थायी बासिन्दा/कर्मचारीहरुलाई निशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने गरि सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र, रुपेन्देही वीच सम्झौता भएको ।
रुपन्देही जिल्ला भित्र संचालनमा रहेका सरकारी, निजी तथा सामुदायीक अस्पतालहरुमा उपचार गराउने सन्धिखर्क नगरपालिका भित्रका स्थायी बासिन्दा/कर्मचारीहरुलाई निशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने र नगरपालिकाबाट रक्त संचार सेवा केन्द्र रुपन्देहीको लागी रगत संकलन कार्यको लागी सहयोग गर्ने उदेश्यले यो पुन्य कामको लागी सम्झौता गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।
आफ्ना नागरिकलाई रगत र रगतजन्य पदार्थ अभावबाट बचाउनको लागी जिल्लामै पहिलो पटक यो कार्य गर्न लागेको र पहिलो पटक रुपन्देही र त्यस लगतै भरतपुर चितवन र काठमाण्डौँका निजी तथा सरकारी हस्पिटलहरुमा निशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउनको लागी पहल गरिने प्रमुख प्रशासकीय अधिकृत खुम भुसालले जानकारी दिए ।
सम्झौतामा पहिलो पक्षको तर्फबाट नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, रोहबर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीका सभापति कुशल भुसाल, जिल्ला शाखा मन्त्री तुलसीराम पौडेलले हस्ताक्षर गरेका छन् ।












