
- धनुषाको नगराइनबाट १० दिनदेखि बेपत्ता भएका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्।
- घरबाट अढाइ किलोमिटर टाढा रहेको धानखेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
- बालकको मृत्यु शंकास्पद रहेकोले प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
जनकपुरधाम । १० दिनदेखि बेपत्ता रहेका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका ७ वर्षीय बालक साकेत झा शनिबार मृत अवस्थामा फेला परेका छन्।
घरबाट करिब अढाइ किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।
डीएसपी खनालका अनुसार केहीबेरअघि धानखेतमा बालकको शव फेला परेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए।
गत कार्तिक ४ गते दशैँको टीकाका दिन साकेत घरबाट निस्किएपछि बेपत्ता भएका थिए। बालक बेपत्ता भएपछि परिवारजन तथा स्थानीय बासिन्दा चिन्तित बनेका थिए। परिवार र प्रहरीले निरन्तर खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
बालकको खोजीका क्रममा प्रहरीले नजिकका गाउँघर, पोखरी, झाडी तथा आसपासका विभिन्न स्थानमा खोजतलास गरेको थियो तर १० दिनपछि धानखेतमा उनको शव फेला परेको हो।
बालकको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले हत्या भएको हुन सक्ने आशंकासमेत गरेको छ। घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको र मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













