back to top
३१ असोज २०८३, शनिबार
IPL 2024
३१ असोज २०८३, शनिबार

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेस कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सार्वजनिक संस्था हुनुपर्छ।
  • पार्टीको आन्तरिक निर्वाचनमा पराजित नेताहरूलाई पनि जिम्मेवारी दिएर अघि बढ्नुपर्छ।
  • बदलिँदो समाज र नयाँ पुस्ताका आकांक्षा सम्बोधन गर्न कांग्रेसले सबै पुस्तालाई जोड्नुपर्छ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम र बडादशैं, तिहार तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेसले बदलिँदो समाजका आवश्यकता र नागरिकका आकाङ्क्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘ नेपाली कांग्रेस पार्टीको प्रारम्भ यहीँबाट हुन्छ । कांग्रेस पार्टी कुनै नेताको होइन, कसैको प्राइभेट कम्पनी होइन । हजारौँ–लाखौँ मानिसहरू पार्टीभित्र आवद्ध छन्, शुभेच्छुक छन्, समर्थक छन्, सबैको साझा सम्पत्ति हो । सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्तिमा सबैको बराबर हक लाग्छ । त्यसकारणले गर्दा पार्टीभित्र पनि यहाँभित्र पनि सबैको समान कुरा हो ।’

उनले पार्टीको आगामी यात्रामा विचार, सङ्गठन र नेतृत्वलाई मुख्य आधार बनाएर अघि बढ्ने उल्लेख गरे । सभापति थापाले राजनीतिक दलको वैधता सदस्यहरूको मतबाट मात्र नभई समर्थक, शुभेच्छुक र आम नागरिकको स्वीकार्यताबाट स्थापित हुने बताए ।

०८२ को भदौ २३ र २४ का घटनापछिको परिस्थितिमा नेपाली कांग्रेसले जनतामाझ गएर आफ्ना विचार राख्नुपर्ने र नागरिकका कुरा सुन्नुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन आयोजना गरिएको उनले स्पष्ट पारे ।

पार्टीभित्र नेतृत्वको अधिकार र आम सदस्य तथा समर्थकको भूमिकाबारे फरक बुझाइ रहे पनि दललाई व्यापक सार्वजनिक संस्थाका रूपमा बुझ्नुपर्ने उनको धारणा थियो ।

उनले भने, ‘राजनीतिक दल भनेको सदस्यता लिएका व्यक्तिहरूको मात्रै संस्था होइन, यो समर्थक, शुभेच्छुक र आम नागरिकको पनि साझा संस्था हो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिमा नेपाली कांग्रेस जनतामाझ जानुपर्छ, आफ्ना कुरा राख्नुपर्छ र नागरिकका कुरा सुन्नुपर्छ भन्ने मान्यताका साथ हामीले विशेष महाधिवेशन गरेका हौँ ।’

पराजित भएका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइने

सभापति थापाले पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई थप सरल र प्रभावकारी बनाउनुपर्ने बताए । वडादेखि केन्द्रसम्म विभिन्न तहमा हुने निर्वाचन र प्रतिनिधि छनोट प्रक्रियाबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

यसपटकको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि अभ्यासमा रहेको दुई समूहबीचको प्रतिस्पर्धालाई तोड्न सहयोग गरेको उल्लेख गर्दै थापाले आन्तरिक निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटेर अघि बढ्ने बताए ।

निर्वाचनमा विजयी हुनु र पराजित हुनुका आधारमा कसैको योग्यता निर्धारण गर्न नहुने उनको भनाइ थियो । पार्टी निर्माणका लागि योग्य र अनुभवी नेताहरूको योगदान आवश्यक हुने भएकाले सबैलाई समेटेर केन्द्रीय समितिलाई प्रभावकारी बनाउने उनले बताए ।

सभापति थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा परिवर्तन ल्याएको बताए ।

एउटै परिवारभित्रका फरक पुस्ताको सोच, भाषा र कल्पनाबीच दूरी बढिरहेको उल्लेख गर्दै उनले पुरानो र नयाँ पुस्तालाई एकअर्काको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई थप विभाजित गर्न सक्ने बताए ।

नेपाली कांग्रेसले विभिन्न पुस्तालाई जोड्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले यसपटक ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएको विषयलाई पार्टीले बदलिँदो समाजका मुद्दालाई सम्बोधन गर्न गरेको प्रयासका रूपमा व्याख्या गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?

×
FLASH NEWS FLASH