काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आज बुधवारको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।
बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, ‘अनुसन्धान कहीँ कतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उनले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताए ।