अर्घाखाँची । अर्घाखाँचीमा देउसी भैलोबाट प्राप्त रकमको अक्षयकोष स्थापना गरिएको छ ।
जिल्लाको पाणिनि गाउँपालिका वडा नं. ७ तल्ला गाउँ झन्द्रेक भैलो समुहका युवाहरूले देउसी भैलोबाट संकलित रकमबाट अक्षयकोषको स्थापना गरेका हुन् । भैलो समुहका युवाहरूले आफूहरू देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट पाणिनि गाउँपालिका वडा नं. ७ झन्द्रेकमा रहेको जनसेवा माध्यमिक विद्यालयमा २० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सो रकम आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेलाई हस्तान्तरण गरिएको छ।
अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई प्रेरणा दिन उक्त रकम खर्च गरिने देउसीभैलो समुहका सदस्य गोविन्द बि. क. ले जानकारी दिए । अक्षयकोषको रकम वृद्धि गर्दै शैक्षिक क्षेत्रमा योगदान गर्न र संस्कृतिको जगेर्ना गर्न आफूहरू लागिरहने समुहका सदस्य प्रकाश प्युठानीले बताए ।
रकम ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक बेल्बासेले यसरी शैक्षिक उन्नयनका लागि युवाहरूले गरेको उदाहरणीय कार्यका लागि धन्यवाद ज्ञापन गरे । साथै यस्तो कार्यबाट अरुलाई पनि सामाजिक कार्यमा लाग्न प्रेरणा मिल्ने प्रधानाध्यापक बेल्बासे बताए ।
देउसीभैलो खेलेर उठेको रकमबाट विभिन्न खालका भोज भतेर तथा मनोरञ्जन गरेर खर्च गर्ने परिपाटिलाई चिर्दै रचनात्मक र सामाजिक क्षेत्रमा पनि परिचालन गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् ।













