
- अर्घाखाँचीको भूमिकास्थानमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
- घरअगाडि खेल्ने क्रममा बालकको मुखमा गम्भीर चोट लागेको थियो।
- उपचारका लागि अस्पताल लगिएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका छन्।
अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४, धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेले जानकारी दिए।
प्रहरीका अनुसार आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो। घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो।
अस्पतालमा चिकित्सकले स्वास्थ्य जाँच गर्दा बालकलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया पूरा भएपछि आफन्तले बालकको शव बुझेर लगेको प्रहरीले जनाएको छ।













