अर्घाखाँची । विकास समितिको अध्यक्षमा नियुक्ति र पदच्युतकाे राजनैतिक भुमरीमा अर्घाखाँची अस्पताल परेको छ ।
राजनैतिक किचलोका कारण अर्घाखाँची अस्पतालको विकास समिति अध्यक्ष नियुक्ति हुने र पदच्युत हुने होड चलिरहेको छ । जसका कारण स्वास्थ्य सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव परेको छ । सरकार परिवर्तन भएकै कारण अस्पताल विकास समितिहरू विघटन र नियुक्ति गर्ने होडबाजी चलिरहेको छ ।
बिक्रम संवत् २०७८ वैशाख ३१ गते अस्पताल विकास समितिको अध्यक्षमा सन्धिखर्क १ निवासी श्रीकृष्ण भुसाल नियुक्त भए । कोरोनाको कालमा भएको उनको नियुक्तले जिल्लावासीमा अस्पतालमा सुधार हुने आशा पलायो र अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको आपूर्तिका लागि भुसालले तिव्र सक्रियता पनि देखाए । तर भुसाललाई २०७८ पौष २५ गते अध्यक्ष पदबाट हटाइयो ।
२०७८ फागुन १७ गते लुम्बिनी प्रदेश सरकारले नेपाली कांग्रेसको जिल्ला सचिव समेत रहेका कृष्ण खनाललाई अध्यक्षमा नियुक्त गर्यो । उता श्रीकृष्ण भुसाल पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च पुगे । मिति २०७९ असार १४ गते सर्वोच्च अदालतले अर्घाखाँची अस्पतालका अध्यक्ष श्रीकृष्ण भुसाललाई अध्यक्षमा निरन्तरता दिन अन्तरिम आदेश दियो र उनको पुनर्बहाली भयो ।
२०८० कार्तिक २३ गते प्रदेश सरकारले पुनः श्रीकृष्ण भुसाललाई हटाएर सन्धिखर्क नगरपालिका १२ का लिलाधर बस्याललाई अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्यो । बस्यालले पदभार ग्रहण समेत गरिसकेका थिए । तर भुसालले आफ्नो कार्यकाल पूरा नहुँदै आफूलाई पूर्वाग्रह रूपमा हटाइएको र यो नियुक्ति कानून अनुरुप नभएको भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरि सर्वोच्चमा निवेदन दिए । २०८० मंसिर १९ गते सर्वोच्चले भुसालको पक्षमा अल्पकालीन आदेश जारी गरेसँगै पुनः श्रीकृष्ण भुसालले अस्पताल विकास समितिको अध्यक्षमा निरन्तरता पाएका छन् । यद्यपि अन्तिम फैसला भने भएको छैन ।
यसरी २०७८ मा ३ वर्षे कार्यकालका लागि नियुक्त भएका भुसाल हटाउने र पुनर्बहाली हुने चलिरहेको छ । अस्पताल विकास समितिलाई राजनीतिक कृडास्थल बनाउन नहुने भुसाल बताउँछन् । उनी भन्छन्, “यसरी अविच्छिन्न रूपले काममा खटिरहेका विकास समितिलाई बीचबीचमा अवरोध खडा गर्दा सेवा प्रवाहमा नकारात्मक असर पर्ने र कार्य क्षमता प्रदर्शन गर्न समेत गार्हो हुने हुँदा कानूनी हिसाबले नियुक्ति भइसकेपछि कमजोरी गरेको अवस्थामा बाहेक समितिलाई पूर्ण कार्यकाल काम गर्ने वातावरण सृजना गर्नुपर्छ ।”
यता अस्पताल विकास समिति अस्थिर हुँदा अस्पतालका दैनिक काम काजहरू देखि लिएर समग्र अस्पतालको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । मानव जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल विषयमा सरकार गम्भीर हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।













