काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
युएईबाट काठमाडौँ अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयभित्र शिशु मृत फेला परेपछि अनुसन्धान गर्ने क्रममा कुवेतबाट युएई हुँदै नेपाल आएकी ती महिलाले शौचालयमा बच्चा जन्माएर छाडेको पाइएको हो ।
मृत शिशु शौचालयको कमोडभित्र फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । यसरी बच्चा जन्माएर छाड्ने कुवेतबाट आएकी २८ वर्षीया नेपाली महिला हुन् । उनी कामदारका रुपमा कुवेत गएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
युएईको सारजहाँ विमानस्थलबाट हिँडेको एयर अरेबियाको विमान आज विहान ९:५ बजेको समयमा काठमाडौँमा अवतरण गरेको थियो । जहाज सरसफाइ गर्ने क्रममा शौचायलमा मृत शिशु फेला परेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पदमराज विष्टले विमानस्थलबाट लगेज लिएर कष्टममा पुगिसकेको अबस्थामा ती महिलालाई नियन्त्रणमा लिइएको बताए ।
उनीमाथि अहिले गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले शिशु भने आफ्नै श्रीमानको भएको दावी गरेकी बताइएको छ ।













