बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन् ।
लुम्बिनी प्रदेशसभाले शनिवार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति फागुन ८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन भएको प्रदेश सभाले जारी गरेको सूचनामा भनिएको छ । राष्ट्रसेवकको हकमा मुद्दा विशेष अदालतमा दायर भइ बिचाराधिन अवस्थामा उक्त मुद्दाको अन्तिम किनारा नभए सम्म स्वतः निलम्बन रहने कानुनी ब्यवस्था भए अनुसार उनी निलम्बनमा परेका हुन् ।
यादवमा माथि सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत बबरमहल, काठमाडौंमा मुद्दा दायर भएको छ ।
यादव गत प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र ३(ख) का निर्वाचित प्रदेश सांसद थिए ।












