अर्घाखाँची । पाणिनी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको आयोजनामा पाणिनी गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पूर्व अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोका प्रमुख तथा कर्मचारीहरू,पालिकाका कर्मचारीहरू, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक अगुवा, पत्रकार, र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सुशासन र पारदर्शितालाई सुनिश्चित गर्नका लागि अपनाउनुपर्ने रणनीतिहरू, भ्रष्टाचार नियन्त्रणका उपायहरू, र जिम्मेवारी बहन गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पाणिनीमा सुशासनलाई प्रवर्द्धन गर्न स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै प्रभावकारी नीतिहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नागरिकका गुनासाहरूको समाधान र सेवाप्रवाहमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानूनी सुधार, कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नुपर्ने र सामुदायिक सहभागितालाई बढावा दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सेवा प्रवाह पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको जिकिर गरे । साथै अख्तियारमा सबैको सहज पहुँच हुनुपर्नेमा समेत जोड दिएका थिए ।
अन्तरक्रियामा अख्तियार अनुसन्धान आयोगका प्रहरी निरीक्षक मुकुन्द गौतमले कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचारको अवस्था, संवैधानिक ब्यवस्था, कानुन, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता, छानविन र अनुसन्धान प्रकृयालगायतका विषयमा चर्चा गरिएको थिए ।
कार्यक्रमको समापन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे । उनले सुशासन प्रवर्द्धनका लागि समन्वयात्मक प्रयासलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाएका ििथए ।
यस अन्तरक्रिया कार्यक्रमले पाणिनी गाउँपालिकामा सुशासन र पारदर्शितालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।













