अर्घाखाँची । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्घाखाँचीका ८२ उजुरी परेका छन् ।
६ स्थानीय तह रहेको अर्घाखाँचीमा पौष मसान्तसम्मको तथ्याङ्क अनुसार ८२ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७ वटा र चालु आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्तसम्ममा दर्ता भएका ५५ गरि ८२ वटा उजुरी छन् ।
स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सञ्चालन गरेका योजनामा भ्रष्टाचारसँगै कर्मचारीले घुस मागेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको, प्रक्रिया मिचेर आफ्ना मान्छेलाई जागिर खुवाएको, जनप्रतिनिधिले अनावश्यक सेवा सुविधा लिएको लगायतका विषयमा उजुरी परेका हुन् ।
आयोगमा परेका ८२ उजुरी मध्ये ४८ वटा मुद्दा फर्छ्यौट भइसकेका आयोगले जानकारी दिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये मालारानी गाउँपालिका अन्तर्गत सबैभन्दा धेरै उजुरी आएका छन् । आयोगको कार्यालय बुटवलका अनुसार मालारानीका ४८ वटा उजुरी छन् । जसमध्ये २९ वटा मुद्दा फर्छ्यौट भइसकेका छन भने १९ वटा अनुसन्धानको क्रममा रहेका छन ।
शितगंगा नगरपालिका अन्तर्गत १५ वटा उजुरी रहेकामा ९ वटा फर्छ्यौट भइसकेका छन् । यस्तै, सन्धिखर्क नगरपालिका अन्तर्गत ८ वटा उजुरी रहेका छन भने ५ वटा फर्छ्यौट भइसकेका छन्। पाणिनि गाउँपालिका अन्तर्गत ५ वटा उजुरी रहेका छन भने ४ वटा फर्छ्यौट भइसकेका छन्। छत्रदेव गाउँपालिका अन्तर्गत ३ वटा उजुरी रहेका छन भने १ वटा फर्छ्यौट भइसकेका छन्। भूमिकास्थान नगरपालिका अन्तर्गत ३ वटा उजुरी रहेका छन भने २ वटा फर्छ्यौट भइसकेका छन्।
आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्तसम्ममा अर्घाखाँचीका ४८ उजुरी फर्छ्यौट भइसकेका छन् भने ३४ उजुरी उपर आयोगले अनुसन्धान गरिरहेको छ ।













