अर्घाखाँची । पाणिनी गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौँ अधिवेशन मङ्गलबारबाट शुरू भएको छ । बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेश गरिएका छन् ।
गाउँसभाको अधिवेशन गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा ‘पाणिनी गाउँपालिकाको कृषि तथा पशुपन्छी व्यवस्थापन गर्न बनेको विधेयक, २०८१’ र ‘स्थानीय वन संचालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१’ प्रस्तुत गरिएका थिए । विधेयक पालिकाको विधायन समितिका संयोजक पार्वती बिकले पेस गरेकी थिइन् ।
कृषी तथा पशुपन्छी सम्बन्धी व्यवस्था विधेयकले गाउँपालिकाभित्रको किसान र समग्र नागरिकको खाद्य सम्वन्धि हकको सुनिश्चितता तथा किसानको सशक्तीकरण गर्दै कृषि प्रणालीमा सुशासन कायम गर्ने, कृषिको दिगोपनाका लागि कृषि जमिनको उपयोग गरी परम्परागत र पर्यावरणमैत्री कृषि प्रणालीको सुधार गर्ने, कृषि व्यवसायिकरण मार्फत खाद्यमा आत्मनिर्भरता र किसानको आर्थिक अवस्था सुधार गर्दै समृद्धि हासिल गर्ने र कृषि तथा पशुपक्षी पेशाका लागि कृषि प्रसार सेवा सामाग्री, सिँचाइ प्रविधि प्रभावकारी रुपमा उपलब्ध गराउँदै कृषि उत्पादनको प्रशोधन भण्डारण बजारिकरण गरी कृषि उपजको उचित मूल्य र बजार पहुँचको सुनिश्चितताका लागि गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, स्थानिय वन चालन तथा व्यवस्थापन विधेयकले नेपालको संविधानमा उल्लेखित वन माथिको स्थानीय सरकार र समुदायको अधिकारलाई व्यवहारिक रूपमा प्रत्याभूत गराउँदै वनको दिगो व्यवस्थापन, दिगो संरक्षणमा जिम्मेवारी तुल्याउँदै वन श्रोतबाट अधिकतम लाभ उठाई लाभको न्यायोचित वितरणको माध्यमबाट स्थानीय सरकार र समुदायको आर्थिक, सामाजिक, पर्यावरणीय र भौतिक लगायतका स्थानीय विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आर्थिक समृद्धि एवं दिगो विकासको लक्ष्य प्राप्त गर्न थप योगदान पुऱ्याउन वनको व्यवस्थापन, उपयोग सम्बन्धी स्थानीय वन व्यवस्थापन गर्न प्राथमिकता दिने योजना बनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले समाचारपोष्टसंग कुरा गर्दै विधेयकहरूको औचित्य र लागू प्रक्रियाबारे प्रष्ट पारे । “यी विधेयकहरूले पाणिनी गाउँपालिकाको विकास र सुशासनलाई थप सुदृढ बनाउने विश्वास लिएको छु,” न्यौपानेले भने।
बैठकले विधेयकहरूलाई आवश्यक संशोधनसहित आगामी बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ। बैठकमा पालिकाबाट सम्पादन कामहरू अर्धवार्षिक समिक्षा समेत गरिएकाे थियो ।
गाउँसभामा सभा अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम पौडेल, सभाका सदस्यहरू, सदस्य सचिव रोमनाथ न्यौपाने, गाउँपालिकाका कर्मचारी, पत्रकार र अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
आगामी बैठक माघ २४ गते दिउँसो १ बजे बस्ने गरि सम्पन्न भएको छ ।













