नवलपरासी सेवा समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार कतारको हमाद हस्पिटल स्थित राष्ट्रिय रक्तदान केन्द्रमा नवलपरासीका अध्यक्ष दुर्गा हमाल ठकुरीको रक्तदानबाट शुभारम्भ भएको कार्यक्रममा अन्तिम रक्तदाता रुपा पौडेल ओली सङ्गै ६४ जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नर बहादुर थापाले बताएका छन् ।
बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म चलेको उक्त “मानवीय तथा पुण्य”को कार्यक्रममा सहभागी भएर रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष ठकुरीले हार्दिक धन्यवाद सहित आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी , गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहित पत्रकार तथा नेपाली जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।













