अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ६ ठुलापोखरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज रुपन्देहीको आयोजनामा, एडमण्ड सिटी हस्पिटल बुटवलको चिकित्सकीय प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बुटवल मुक्तिनाथको सहकार्यमा उक्त शिविर संचालन गरिएको हो।
शिविरमा हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. सतीशराज रुपाखेती, जनरल फिजिसियन डा. सुमन आचार्य, रेडियोलोजिस्ट डा. विजय भण्डारी लगायतका विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो।
शिविरका कार्यक्रम संयोजक तथा अर्घाखाँची ठुलापोखरा सम्पर्क समाजका उपाध्यक्ष रिखिराम भट्टराईका अनुसार आफु जन्मिएको ठाउँमा समाजसेवा गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो। उनले भने, “गाउँमा सेवा पुर्याउनु हाम्रो दायित्व हो, यो हाम्रो सामाजिक योगदान पनि हो।”
शिविरमा ल्याब, एक्स–रे लगायतका आवश्यक स्वास्थ्य परीक्षणहरू गरिएको थियो भने निःशुल्क औषधि वितरण समेत गरिएको थियो। शिविरमा सबैभन्दा धेरै हाड जोर्नी तथा नसा सम्बन्धी रोगीको उपस्थिति देखिएको थियो। डा. राजकृष्ण श्रेष्ठका अनुसार शिविरको मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सर पहिचान तथा जनचेतना फैलाउने रहेको थियो।
उक्त शिविरमा ११८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ भने १९२ जना हाड जोर्नी तथा नसा सम्बन्धी समस्याबाट पीडित बिरामीको परीक्षण गरिएको आयोजकले जानकारी दिएको छ।
शिविरमा जम्मा ४४९ जना बिरामीहरूले विभिन्न स्वास्थ्य सेवाहरू लिएका छन्। गाउँमै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासीहरू खुशी देखिएका थिए।













