अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाललाई स्वागत गरेको छ ।
गाउँपालिकाले आफ्नो दसौं प्रमुख प्रशासकीय अधिकृतका रूपमा नवनियुक्त अधिकृत खनाललाई बुधबार एक विशेष कार्यक्रमकाबीच स्वागत गरेको हो। यसअघि पाणिनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रोमनाथ न्यौपानेको सरुवा भएपछि उक्त पदमा खनालको पदस्थापन भएको थियो।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम पौडेल लगायत जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा नवनियुक्त अधिकृत खनाललाई स्वागत गरिएको थियो।
सोही अवसरमा बोल्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले पाणिनि गाउँपालिकालाई सुशासन र विकासको नमूना बनाउन आफू प्रतिबद्ध रहेको बताए। स्थानीय तहमा आफ्नो पहिलो अनुभव रहेको भन्दै उनले भने, “पाणिनीको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र आम नागरिकको सहयोग अपरिहार्य छ। म सबैको साथ र सहकार्यमा गाउँपालिकाको सर्वाङ्गीण विकासका लागि काम गर्नेछु।”
यसैगरी, गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले नवनियुक्त अधिकृत खनाललाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको विकासमा उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरे । “हामीले विकास र समृद्धिको जुन लक्ष्य लिएका छौँ, त्यो पूरा गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत ज्यूको नेतृत्व र अनुभवले ठूलो मद्दत पुग्ने विश्वास लिएका छौँ,” अध्यक्ष न्यौपानेले भने।
अध्यक्ष न्यौपानेले अघिल्ला प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्याएको योगदानको पनि प्रशंसा गर्दै उनलाई सफल कार्यकालको शुभकामना दिएका छन्।













