अर्घाखाँची । पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले लैंगिक हिंसा एकल प्रयासले अन्त्य नहुने स्पष्ट पार्दै यसको रोकथामका लागि सामुदायिक, संस्थागत र नागरिक तहको संयुक्त कदम अपरिहार्य रहेको बताएका छन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत पाणिनी गाउँपालिकाले आयोजना गरेको कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी निकाय मात्र पर्याप्त नभएको र सबैको साझा प्रतिबद्धता आवश्यक पर्ने बताए। अधिकृत खनालले १६ दिने अभियानले चेतना फैलाउने महत्त्वपूर्ण काम गरे पनि लैंगिक हिंसाविरुद्धको वास्तविक अभियान ३६५ दिन निरन्तर चल्नुपर्ने आवश्यकता औँल्याए। उनले लैंगिक हिंसा मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसप्रति संवेदनशील भएर तेस्रो लिंगी समुदायको अधिकारसम्म समेटेर कार्यक्रम सञ्चालन गरिएको समेत जानकारी दिए।
अशिक्षा, गरिबी, बेरोजगारी र पितृसत्तात्मक सोच नै लैंगिक हिंसाको मुख्य कारण रहेको उल्लेख गर्दै उनले सरकारले स्पष्ट कानुनी व्यवस्था र कार्यान्वयनका प्रक्रियालाई सुदृढ बनाइरहेको बताए। लैंगिक प्रतिनिधित्व मात्र पर्याप्त नहुने भन्दै उनले सशक्तीकरण तथा क्षमता अभिवृद्धिमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।
लैंगिक हिंसा न्यूनीकरण तथा पीडित सहयोग कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पाणिनी गाउँपालिका प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका सहायक न्यायाधिवक्ता विष्णुहरि मरासिनीले कानुनी अधिकार, हिंसा न्यूनीकरणका उपाय तथा सहयोग सेवाबारे विस्तृत प्रशिक्षण प्रदान गरेका थिए।












