
- अर्घाखाँचीमा रास्वपाका उम्मेदवार हरिप्रसाद भुसालले चुनाव प्रचारका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागेका छन्।
- उम्मेदवारले पारदर्शी निर्वाचन अभियानको दाबी गरे पनि यस कार्यको पक्ष र विपक्षमा बहस सुरु भएको छ।
- निर्वाचन आचारसंहिताले सहयोग माग्न बन्देज नलगाए पनि प्राप्त रकमको आधिकारिक हिसाबकिताब निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ।
अर्घाखाँची । देश यतिखेर प्रतिनिधिसभा निर्वाचनको सरगर्मीले तातिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्न उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन्। जनताको मन जित्न कतिपय उम्मेदवारले नयाँनयाँ शैली अपनाइरहेका छन्।
यही क्रममा अर्घाखाँचीमा भने एउटा फरक दृश्य देखिएको छ। यहाँ एक उम्मेदवारले भोटसँगै ‘नोट’ पनि माग्न थालेका छन्। सार्वजनिक रूपमै आफ्नो बैंक खाता नम्बर र क्युआर कोड सामाजिक सञ्जालमा सेयर गर्दै सहयोगका लागि आग्रह गर्न थालेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अर्घाखाँची प्रतिनिधिसभा उम्मेदवार हरिप्रसाद भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत क्युआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोग मागेका हुन्। उनले फेसबुकमा लेखेका छन्, “हामी बरु नष्ट हुन्छौँ तर भ्रष्ट हुँदैनौँ। हामी हाम्रो चुनावी अभियान अधिकतम कम खर्चमा सम्पन्न गर्न चाहन्छौँ। साथै त्यसमा हाम्रा समर्थक तथा शुभेच्छुकहरूको सहभागिता होस् भन्ने अपेक्षा गर्छौँ। चुनावी प्रयोजनका लागि नै नयाँ खाता सञ्चालन गरिएकोले आय तथा व्यय पूर्ण रूपमा पारदर्शी हुने प्रतिबद्धता समेत जनाउँछौँ।”
उनको यो आग्रहलाई केहीले ‘पारदर्शी चुनावी अभ्यास’ को रूपमा लिएका छन् भने केहीले चुनावी खर्चका नाममा खुलेआम चन्दा माग्नु उपयुक्त हो वा होइन भन्ने प्रश्न पनि उठाएका छन्। निर्वाचन आचारसंहिता, राजनीतिक दलको आन्तरिक खर्च व्यवस्थापन र उम्मेदवारको नैतिकतासँग यो विषय जोडिएपछि सामाजिक सञ्जालमा समेत बहस सुरु भएको छ।
भोट माग्ने चुनावी प्रतिस्पर्धामा अब ‘नोट’ माग्ने अभ्यास सुरु हुनु नेपाली राजनीतिमा नयाँ प्रयोग हो । यसोत चुनावको वेला उम्मेदवारहरुले गोप्य रुपमा पैसा संकलन गर्ने कुराभने कुनै नौलो होइन ।
यता निर्वाचन आचारसंहिता २०८२ ले उम्मेदवारहरूले आर्थिक सहयोग माग्न बन्देज गरेको छैन । तर करकापमा भने सहयोग माग्न पाइँदैन। आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरण तोकिएको छ। यसरी उम्मेदवारहरूले निर्वाचनको लागि आर्थिक सहयोग उठाउन पाए पनि निर्वाचनपछि सबै त्यसको हिसाबकिताब आयोगमा बुझाउनुपर्ने हुन्छ ।
उम्मेदवार भुसाल भने यसरी पारदर्शी हुने बताउछन । उनले चुनावमा न्युनतम खर्च गर्न खोजेको भन्दै खाताको हिसाव किताब पूर्ण पारदर्शी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।












