
- पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
- प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको छ। अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ।
प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु २ ख ४५२५ नम्बरको टिपर शनिबार साँझ करिब ६ बजे दुर्घटनामा परेको हो। झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले तीनजनालाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












