अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ७ ले वडा भित्रका ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गर्दै डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षणसहितको सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
वडाको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त अभियानमा १६ जना जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर डेस्पेन्सरी वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको अनुभव र सुझावले समाज तथा वडाको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। “हामीले ठूलो काम त गर्न सकेका छैनौं, तर सम्मान स्वरूप घरघरमै पुगेर सेवा दिन पाउँदा खुशी लागेको छ,” उनले भने।
कार्यक्रममा वडा सदस्य डुकलाल पोख्रेल, पुष्पा नेपाली, वडा सचिव सीता बिसी पराजुली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विक, पत्रकार अनिल नेपाली लगायतको टोलीले गाउँ–गाउँमा पुगेर सेवा प्रदान गरेको थियो।
घरमै पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक सामग्री वितरण गर्दा जेष्ठ नागरिकहरू खुसी भएको स्थानीयले बताएका छन्। उनीहरूले यस कार्यक्रममार्फत स्थानीय सरकारको सेवा प्रत्यक्ष रूपमा अनुभूति गर्न पाएको प्रतिक्रिया दिएका छन्।
वडा अध्यक्ष केसी निर्वाचित भएदेखि नै वडावासीका लागि रचनात्मक तथा जनमुखी कार्यक्रम सञ्चालन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएका छन्।